औषधि आयात बढ्यो अभाव सहज हुने विश्वास

medicineकाठमाडौँ- वीरगञ्ज नाकाबाहेक अन्य नाका सहज भएपछि औषधिको आयात पनि बढेको औषधि विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताउनुभयो ।

उहाँले विराटनगर, सुनौली नेपालगञ्ज नाकाबाट अहिले औषधि भित्रिरहेको जानकारी दिँदै सरकारी स्वास्थ्य संस्थामा देखिएको अभाव कम गर्न सरकारले द्रुतमागबाट औषधि खरिद गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाउनुभयो । उहाँका अनुसार तीन महिनाका लागि रु २० करोडको औषधि किन्ने गृहकार्य पूरा भएको छ ।

औषधि उत्पादक सङ्घका उपाध्यक्ष दीपक दाहालले विभिन्न नाकाबाट र हवाई मागमार्फत कच्चा पदार्थ आउन थालेपछि बजारमा पहिलेको जस्तो औषधि अभाव नभएको बताउनुभएको छ ।

उहाँले सुनौली र अन्य भन्सार नाकाबाट अहिले सहजरुपमा औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आइरहेको बताउनुभयो ।

औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले अहिले औषधिको आयात बढेको जानकारी दिनुभयो । उहाँले आयात बढेकाले बजारमा औषधि अभाव हट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।