काठमाडौं– सरकारमा सहभागी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले आफुहरुसँग गरेको ८ बुँदे सहमति कार्यन्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै सरकार गठनका बेला भएको सहमति कार्यान्वयनका लागि आग्रह गरेको हो ।
टोलीमा गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिकका अन्य नेताहरु सहभागी थिए । ज्ञापनपत्रमा सरकार गठनका बेला भएको सहमति अनुसार मधेस तथा थारु आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेलाई उपचार गर्नुपर्ने, घर जलाइएका तथा अन्य भौतिक क्षति भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका आग्रह गरिएको छ ।






