काठमाडौं- संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को मानव विकास सूचकांकमा नेपाल अघिल्लो वर्षभन्दा एक स्थान खस्किएर एक सय ४७ औं स्थानमा झरेको छ ।
सोमबार सेलिम जहानको नेतृत्वमा रहेको टोलीले सार्वजनिक गरेको प्रतिवेदनले हरेक वर्ष शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय, पूर्वाधारलगायतमा नेपालले पाएको अंकको आधारमा एक स्थान खस्किएको देखाएको हो ।
उक्त प्रतिवेदनमा नेपालले यसअघिको भन्दा कम अंक प्राप्त गर्दै न्यून मानव विकास देशहरुको सूचीमा दोस्रो स्थानमा झरेको समेत देखाएको छ । सन् १९९५ देखि हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्दै आएको संस्थाद्वारा जारी प्रतिवेदनले यसअघि नेपालको राजधानीका जनताको प्रतिव्यक्ति आयमा सहरी र ग्रामीण भेगका जनताबीचको खाडल अत्यधिक रहेको देखाएको थियो ।
अघिल्लो वर्षको प्रतिवेदनअनुसार राजधानीमा बसोबास गर्ने मानिसको प्रतिव्यक्ति आय दुई हजार सात सय ६४ अमेरिकी डलर रहेको थियो भने सबैभन्दा न्यून प्रतिव्यक्ति आय बाजुरामा बस्ने नेपालीको रहेको थियो । जसअनुसार बाजुरामा बस्ने नेपालीको प्रतिव्यक्ति आय ५२३ अमेरिकी डलर रहेको राष्ट्रसंघले जनाएको थियो ।
त्यसैगरी, अघिल्लो वर्ष काठमाडौंको मानव विकास सूचकांक ०.६३२ थियो भने पर्चेजिङ पावर प्यारिटीका आधारमा सबै नेपालीको औसत प्रतिव्यक्ति आयसमेत एक हजार एक सय ६० अमेरिकी डलर पुगेको थियो । त्यसमा सहरी क्षेत्रको आय दुई हजार दुई सय ४८ अमेरिकी डलर र गाउँको नौ सय ३६ अमेरिकी डलर थियो ।
निर्धारित सूचकांकको आधारमा भन्दा काठमाडौंपछि ललितपुर, कास्की, भक्तपुर र मनाङले क्रमशः ०.६०१, ०.५७६, ०.५७३ र ०.५६८ अंक पाएका थिए । जिल्लागत दृष्टिमा गत वर्ष मुगुसहित पाँच जिल्लाले सबैभन्दा कमजोर जिल्लाको रूपमा अंक पाएका थिए । शून्य दशमलव ३६४ सूचकांक रहेको मुगुपछिका कमजोर जिल्लाहरूमा बझाङ, कालिकोट, हुम्ला, अछाम रहेका थिए । ती जिल्लाहरुमा क्रमशः बझाङले शून्य दशमलव ३६५, कालिकोटले शून्य दशमलव ३७४, हुम्लाले शून्य दशमलव ३७६ र अछामले शून्य दशमलव ३७८ अंक पाएका थिए ।






