UPDATE : संकटमा सार्क : भारतपछि अफगानिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले पनि भाग नलिने !

नयाँ दिल्ली – पाकिस्तानमा हुन लागेको सार्क शिखर सम्मेलनमा भारतले भाग नलिने घोषणा गरेको एक दिन नबित्दै अन्य चारवटा देशले पनि सम्मेलनमा भाग नलिने जानकारी भएको छ ।

काठमाडौं स्थित सार्क सचिवालयले भारतसँगै अफगानिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले पनि भाग नलिने जानकारी दिएको पुष्टि गरेको छ ।

गत सेप्टेम्बर १८ मा जम्मु र कश्मिरको युरीमा रहेको भारतीय सेनाको बेसमा भएको आतंकवादी हमलामा १८ जना सेना मारिएपछि नयाँ दिल्लीले मंगलबार सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो ।

हिन्दुतास्तान टाइम्सका अनुसार अब ढाकाले पनि सार्कको अध्यक्ष रहेको नेपाललाई ‘बंगलादेशमा एउटा देशको हस्तक्षेप बढी रहेको’ भन्दै सम्मलेनमा भाग लिन नसक्ने जनाएको छ ।

त्यस्तै भुटानले पनि सुरक्षा स्थितिबारे चाँसो व्यक्त गर्दै अहिलेको स्थितिमा सम्मेलनमा भाग नलिने जानकारी दिएको दाबी गरिएको छ ।

दुवै देशले मंगलबार नै नेपाललाई सम्मेलनमा भाग लिन नसक्ने जनाएको समाचारमा उल्लेख छ ।

यता, इन्डियन एक्सप्रेसले अफगानिस्तानले पनि सार्क सम्मेलनमा भाग नलिने जानकारी दिएको उल्लेख गरेको छ । अफगानिस्तानको वक्तव्यमा अफगानिस्तानमा पछिल्लो समय आतंकवादी कृयाकलापसँगै हिंसामा बृद्धि भएको र त्यसविरुद्धको कारवाहीमा तीव्रता दिइएको कारण राष्ट्रपति मोहमद असरफ घानी सेनाको कमाण्डर इन चिफ पनि भएको कारण त्यसैमा व्यस्त रहने र सार्क सम्मेलनमा भाग लिन नसक्ने जनाइएको छ ।

भारतजस्तै अफगानिस्तानले पनि पाकिस्तानले आफ्नो देशमा आतंक सृजना गर्ने आतंकवादीलाई प्रसय दिइरहेको आरोप लगाउँदै आइरहेको छ ।

यही नोभेम्बरमा पाकिस्तानको इस्लामाबादमा १९ औं सार्क शिखर सम्मेलन आयोजना हुन लागेको थियो ।