दर्शक मध्येबाट एक जनालाई सहारा हङकङबाट १ तोलाको सिक्का
पोखरा– मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा–रारा गोल्ड कपको १४ औं संस्करणको तयारी तिव्र पारिएको छ
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका आउदो माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारुी तिव्र पारिएको आयोजक सहारा क्लवले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराएकोे हो ।
प्रतियोगितामा तीन विदेशी सहित १२ टिमको सहभागिता रहने सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । आचार्यका अनुसार आहा–रारा गोल्ड कपको १४ औं सष्करणमा रुस्लान थ्रीस्टार क्लव, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्गदी क्लव, नवजन जागृति युवा क्लव, सिमरा, त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, सशस्त्रको एपीएफ क्लव, रमझप झापा ११, सहारा क्लव पोखरा र जावलाखेल युथ क्लवले प्रतियोगितामा सहभागि हुनेछन् । तीन विदेशी टिमको लागि छिमेकी देश भारत, भुटान र बंगालादेशमा पत्रचार गरिएको आचार्यले बताए ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउनको मुख्य प्रायोजन रहेकोे प्रतियोगिताबाट ९९ लाख ९२ हजार आम्दानी भई ७९ हजार ६२ हजार ३ सय खर्च हुने र २० लाख २९ हजार ७ सय बचत हुने अनुमान आयोजकको छ । बचत रकम क्लवद्धारा संचालित सहारा एकेडेमीमा रहेका कठिन परिस्थिति एवम विपन्न वर्गका १६ जिल्लाका २६ जना बालकको भरणपोषण र शिक्षामा खर्च गरिने प्रतियोगिताका संयोजक केशवबहादुर थापाले बताए ।
प्रतियोगितालाई सफल बनाउन अध्यक्ष वीरभद्र आचार्यको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति र विभिन्न १५ वटा उपसमितिका साथै १ सय १ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको क्लवका महासचिव एवम् प्रतियोगिता सदस्य सचिव केशवराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको फाइनल खेलमा टिकट काट्ने दर्शक मध्येबाट एक जनालाई गोलाप्रथा गरी सहारा हङकङबाट १ तोलाको सिक्का, सिजी ग्रुपले एलजी टिभी प्रदान गर्नेछ । प्रतियोगिता अवधिमा प्रत्येक दिन गोलाप्रथाद्धारा एक जना दर्शकलाई माइक्रो म्याक्स मोवाइल प्रदान गरिने बरालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सहारा युकेका कोषाध्यक्ष नारायण गुरुङले ‘वेष्ट प्लेयर’ को ट्रफी सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यलाई प्रदान गरे । कार्यक्रममा सहारा क्लवका संस्थापक अध्यक्ष बसन्त थकालीले सबैको साथ र सहयोगले क्लव यो अवस्थामा आईपुगेको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले प्रतियोगितालाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सहारा क्लवले स्थापना गरेको अक्षयकोषको लागि लेखनाथ नगरपालिकाको वेगनास निवासी राजुमाया थकालीको परिवारले ३० हजार ५ सय ७५ रुपैयाँ सहयोग गरे । राष्ट्रिय टिमका कप्तान अनिल गुरुङलाई सहारा क्लवले स्वागत गरेको छ । सहारा क्लवको उत्पादन पोखरेली खेलाडी गुरुङले राष्ट्रिय टिमको कप्तानी सम्हाल्नु पोखराको गौरव भएको भन्दै सहाराले स्वागत गरेको हो ।






