निशा भइन् निर्देशक

nisha-adhikariकाठमाडौं- अभिनेत्री निशा अधिकारी आइतबार दिउँसो एउटा म्युजिक भिडियोको सुटिङमा ‘एक्सन कट’ भन्दै थिइन्। सधैं क्यामेराअघि अभियन गर्न व्यस्त यी अभिनेत्रीको शनिबारको कार्यशैली हेर्दा उनी परिपक्व दिर्नेशकभन्दा कम देखिएकी थिइनन्।

यी अभिनेत्री म्युजिक भिडियोमार्फत निर्देशनमा उत्रिएकी छन्। चलचित्र मायाज बारमा आफ्नो जोडी भएर अभिनय गरेका अभिनेता गजित विष्ट र अभिनेत्री मेनुका प्रधानको जोडीलाई उनी म्युजिक भिडियोमा अभियन गराउन तल्लीन थिइन्। म्युजिक भिडियोको कोरियोग्राफीमा निशालाई कोरियोग्राफर गम्भीर विष्टले सघाइरहेका थिए।

नवोदित गीतकार जनक पहारीको जलेर खरानी भएँ… गीतको भिडियोको निर्देशन अभिनेत्री अधिकारीले गरेकी हुन्। गीतको छायांकन अघि औपचारिक कार्यक्रमसमेत राखेकी यी अभिनेत्रीले भनिन्, ‘म राम्रो गीतको भिडियोबाट निर्देशनमा उत्रने पक्षमा थिएँ। जनकजीको गीत निकै कर्णप्रिय लागेकाले यसै गीतबाट आफ्नो निर्देशन यात्रा सुरु गरेकी हुँ।’

उनको उद्देश्य म्युजिक भिडियो मात्र निर्देशन गर्नु होइन। म्युजिक भिडियोपछि लघु चलचित्र हुँदै चलचित्र नै निर्देशन गर्ने योजना पनि उनले सुनाउँदै भनिन्, ‘जनकजीले चलचित्र निर्माण कम्पनी पनि स्थापना गर्दै हुनुहुन्छ। हामी सो कम्पनीबाट अर्को वर्ष चलचित्र निर्माण पनि गर्ने छौं।’ सन् २०१७ सम्म आफूले चलचित्र निर्देशन गर्ने जानकारी पनि यी अभिनेत्रीले गराइन्।