इटहरीमा शक्तिशाली विष्फोट, ६ जना गम्भीर घाइते

bomb blastइटहरी- सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका– १ स्थित हाटखोला बजार क्षेत्रमा गएराति बजार नै थर्कने गरी भएको शक्तिशाली विष्फोटमा परेर छजना गम्भीर घाइते भएका छन् । विष्फोटका कारण दुईतले पक्की भवनको छवटा सटर पूर्णरुपमा क्षतविक्षत भएको छ ।

सो विषयमा राती नै प्रहरीले अनुसन्धान गर्दा धेरै ग्यास एकैचोटी लिक भएर आगलागी हुँदा त्यस्तो नोक्सानी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक ओम अधिकारीले बताउनु भयो । उहाँले घटनाका विषयमा अरु विस्तृत सोधखोज र छानविन भई रहेको उल्लेख गर्नु भयो ।

भाँडाबर्तन तथा विभिन्न कम्पनीका ग्यास सिलिन्डरसमेतको व्यापार गर्दै आएका चौधरी समुदायका व्यापारीमध्ये व्यापारी ३० वर्षीय पवन चौधरी, उनकै भाइ २८ वर्षीय सञ्जय चौधरी, उनकी श्रीमती २६ वर्षीया पूजा चौधरी, अर्का भाइ २५ वर्षीय राहुल चौधरी र उनकी २३ वर्षीया श्रीमती अनु चौधरी र माइला भनिने कामदार गम्भीर घाइते भएका छन । घाइतेमध्ये अनुको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

घाइते सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको पीडित परिवारका जेठो दाजु दिनेश चौधरीले जानकारी दिनुभयो ।

लगभग बजार चकमन्न अवस्थामा रहेका बेला डरलाग्दो आवाजसहित विष्फोटको आवाज आएको र सो घटना भएको ५०० मिटर आसपासको जमिनसमेत थर्किएको वरिपरिका मानिसले बताएका छन् ।