बाबुरामबारे एमाओवादी मन्त्रीको कडा टिप्पणी

umesh yadav
काठमाडौं- सिँचाइ मन्त्री उमेशकुमार यादवले एकीकृत माओवादी पार्टी त्यागेसँगै डा. बाबुराम भट्टराई ‘जिउँदो लास’ भएको कडा टिप्पणी गरैका छन् ।

एकीकृत माओवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री यादवले डा भट्टराईले माओवादी पार्टी मात्रै परित्याग नगरी माओवादी विचार समेत परित्याग गरेकाले उनी जिउँदो लासमा परिणत भएको तर्क गरे ।

प्रदेश नम्बर दुईबाट प्रतिनिधित्व गर्ने केही जिल्ला स्तरीय नेता तथा अगुवा कार्यकर्तासँगको भेटमा यादवले भने, ‘बाबुराम दाईले माओवादी पार्टीमात्रै त्याग्नु भएको छैन । माओवादी विचार पनि परित्याग गर्नुभएको छ । त्यसैले राजनीतिक रुपमा उहाँ अहिले जिउँदो लासमा परिणत हुनुभएको छ ।’

राजनीतिक विचारविनाको मानिस जिउँदो लासभन्दा बढी केही नहुने उल्लेख गर्दै यादवले विचारविहीन अवस्थामा रहेका भट्टराईले कुनै ठोस राजनीतिक विचार ग्रहण नगरेसम्म जिउँदो लास नै रहने दाबी समेत गरे ।

‘तीस वर्षदेखि निरन्तर रुपमा ग्रहण गरेको विचारलाई बाबुराम दाइले एक्कासि कसरी परित्याग गर्न सक्नुभयो Û,’ आश्चर्यजनक भाव प्रकट गर्दै मन्त्री यादवले मालेमावाद विचार परित्याग गरेर भट्टराईले समग्र जनमुक्ति आन्दोलनलाई नै धोका दिएको आरोप समेत लगाए ।

हालको प्रदेश नम्बर दुई अन्तर्गत पर्ने सप्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद् समेत रहेका मन्त्री यादवलाई त्यही प्रदेशअन्तर्गतका केही जिल्लास्तरीय नेता तथा कार्यकर्ता सोमबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा भेट्न आएका थिए ।

कार्यकर्ता भेटघाटकै क्रममा यादवले डा. भट्टराईलाई माउ पार्टीमै फर्किन आग्रह समेत गरे । त्यस क्रममा यादवले माओवादी पार्टीमै फर्किन नसके मार्क्स, लेनिन र माओको विचारमा आधारित अर्को पार्टी निर्माण गर्न समेत डा. भट्टराईलाई आग्रह गरेका थिए ।

डा. भट्टराईको राजनीतिक भविष्यबारे कार्यकर्ताहरुले जिज्ञासा राख्दा यादवले भट्टराईको कुनै भविष्य नरहेको दाबी गरे । नयाँ शक्तिको भ्रम जालमा नपर्न समेत उनले आफ्ना कार्यकर्तालाई सल्लाह दिएका थिए ।