काठमाडौं, १७ भदौ । मलेसियामा सम्पन्न एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । प्रतियोगिताको अन्तिम खेलमा बिहीबार साउदी अरेबियामाथि नौ विकेटको शानदार जित हासिल गरे पनि नेपाल उपविजेतामै सिमित बनेको हो । ६ टोली सहभागी प्रतियोगिताको अर्को खेलमा अफगानिस्तानले मलेसियालाई ७ विकेटले पराजित गरेसँगै अफगानिस्तानले प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल साबिक बिजेता तथा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा अन्य सबै टोली माथि सानदार जित निकाले पनि अन्ततः नेपाललाई अफगानसँगको हार महँगो परेको हो । अफगानिस्तानले भने राउण्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगितामा सबै टोलीलाई पराजित गर्दै शत प्रतिशत नतिजा निकालेको हो ।
प्रतियोगिताको अन्तिम खेलमा बिहीबार नेपालले साउदी अरेबियालाई नौ विकेटले पराजित गरेको हो । मलेसियाको सेलोंगर टर्फ क्लबमा ५६ रनको बिजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि ओपनर सुनिल धमलाले ३४ र कप्तान राजु रिजालले अविजित १४ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया निर्धारित ५० ओभरको खेलमा ३३ दशमलव २ ओभरमा अलआउट हुँदै ५५ रनमा समेटिएको थियो । साउदीका लागि फैसल खानले १९ र जैनले ११ रन जोड पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
साउदीको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका लागि सुशील कँडेलले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए । यस्तै सुनिल धमला र प्रेम तामाङले समान २–२ विकेट लिए । विजेता अफगानिस्तान, उपविजेता नेपाल र तेश्रो स्थान हासिल गरेको मलेसिया यु–१९ एसिया कपका लागि छनौट भएका छन् ।
नेपालसँग साउदी अरब ९ विकेटले पराजित






