तमु ल्होछार मूल आयोजक समितिले ल्होछार पर्वको अवसर पारेर आज शान्ति पदयात्रा निकालेको छ । सो समितिले यस वर्ष विभिन्न झाँकीसहित पदयात्रा निकालेको हो । वसन्तपुरबाट सुरु भएको सो यात्रा नयाँ सडक, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै समारोहस्थल टुँडिखेलमा आएर सम्पन्न भएको थियो ।
गुरुङ समुदायका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको यात्रामा गुरुङ जातिको वेशभूषा तथा पहिचान झल्कने बाजागाजा प्रयोग गरी नृत्यसमेत प्रस्तुत गरिएको थियो । गुरुङ समुदायले नयाँ वर्षका रूपमा ल्होछार पर्वलाई प्रत्येक वर्षको पुस १५ मा मनाउने गर्दछन् । सोही पर्वका अवसरमा समितिले लोकदोहोरी, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम राखेको छ । आज दिउँसो टुँडिखेलमा विशेष औपचारिक रुपमा महोत्सव गरिने छ । आज अबेरसम्म चल्ने सांस्कृतिक कार्यक्रममा सबैका लागि प्रवेश निःशुल्क गरिएको छ ।
तमु ल्होछार टुँडीखेलमा उल्लासमय






