काठमाडौं १५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन छाडेर देशको विकास र शान्ति स्थापनामा क्रियाशील हुन सबैलाई आग्रह गरेका छन् । देशमा आन्दोलन नभइ अमन चयन आवश्यक रहेको उनले बताए ।
तमु ल्होसारको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै कोइरालाले भने, ‘अब आन्दोलनका दिन गए, तपाईंहरु शान्ति र यमन चयन दिनुस् हामी गरेर देखाउाछौं, यहाँ मुलुकको भविष्यको कुरा छ ।’
भारत, चीन लगायतका छिमेकी देशले पनि नेपालमा छिटो संविधान जारी होस् भन्ने चाहेको भन्दै कोइरालाले संविधान निर्माण प्रक्रियालाई कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
समयमा संविधान जारी गर्ने काममा सरकार चिन्तित भएको प्रधानमन्त्री कोइरालाले बताए । दलहरुबीच विवाद आएको भन्ने हल्ला सही नभएको उनले दाबीसमेत गरे । अब बन्ने नयाँ संविधानमा सबै जातजाति भाषाभाषी र समुदायको उचित सम्मान हुने उनको भनाइ थियो ।
‘राजनीतिक दल, सभामुख जी सबै चिन्तित हुनुहुन्छ, यसबाट सुखद परिणाम दिने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री कोइरालाले भने । वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापबाट अघि बढ्ने भन्दै उनले यसबाटै देश विकासको लहर आउने दाबी गरे ।
कार्यक्रमलाई सम्वोधन गरेर फर्किने क्रममा कोइरालाले जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधरसँग पनि केहीबेर कुराकानी गरेका थिए ।






