प्रचण्ड नेतृत्वको आन्दोलनलाई समर्थन : बैद्य

काठमाडौं १५ पुस। मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले गर्ने आन्दोलनलाई आफ्नो समर्थन रहेको बताएको छ ।

राष्ट्रिय कार्यकर्ता भेलाका निर्णयहरु सार्वजनिक गर्न पार्टी कार्यालय बुद्धनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष सीपी गजुरेलले आपसी समझदारीमा नै आन्दोलन घोषणा भएको बताए ।

प्रचण्ड नेतृत्वको मोर्चा र आफ्नो पार्टीको आन्दोलनको उद्देश्य एकै रहेको भन्दै भने-उहाँहरुसँग सल्लाह गरेर नै हामीले आन्दोलन घोषणा गरेका हौं । उहाँहरुलाई हाम्रो र हामीलाई उहाँहरुको समर्थन रहन्छ ।’

बैद्य माओवादीले कार्यकर्ता भेलाबाट आमहड्तालसहितको आन्दोलन घोषणा गरेको छ । यसअघि प्रचण्ड नेतृत्वको मोर्चाले पनि आमहड्तालसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

छबुँदे सहमति भए पार्टी एकता

बैद्य माओवादीले आफूले अघि सारेको छबुँदे प्रस्तावमा सहमति भए एमाओवादीसँग पार्टी एकता प्रक्रिया अघि बढ्ने बताएको छ ।

उपाध्यक्ष गजुरेलले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकतावद्ध गर्ने जिम्मेवारी माओवादीको भएको बताए ।