डेढ वर्षपछि राप्रपाको दुबै पक्षका नेता एकसाथ कार्यालयमा

RPP

काठमाडौं- डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दुबै पक्षका नेताहरु चाबहिलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भइ कार्यक्रम गरेका छन् ।

राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकताका समयमा भएको सहमति पालना नभएको भन्दै पूर्वप्रधानमन्त्री एवं पार्टी नेता लोकेन्द्रबहादुर चन्दलगायतले समानान्तर पार्टीको काम गर्दै आएका थिए । आलोपालो प्रणालीबाट अध्यक्ष चलाउने सहमतिपछि दुई साताअघि विवाद मिलेको थियो । विवाद मिले पनि चन्द पक्ष कार्यालयमा गएको थिएन ।

पार्टी केन्द्रीय समितिले बुधबार आयोजना गरेको तीन केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने कार्यक्रममा दुबै पक्षका नेताहरु एकसाथ उपस्थित भइ पार्टी एक भएको घोषणा गरेका छन् ।

कार्यक्रममा अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा मजबुत शक्तिको आवश्यकता भएकाले सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।

‘बहालवाला शक्तिले देशको हाँकलाई सामना गर्न नसकेकाले वैकल्पिक शक्तिका रुपमा राष्ट्र«वादी शक्ति एक हुने समय आएको छ, यस्तो शक्तिले मात्र नाकाबन्दीबाट भएको पीडा कम गर्न सक्छ’–उनले भने ।

स्थानीय निकायको निर्वाचन गराउन गाउँगाउँबाट दबाब दिइनुपर्नेमा पनि उनले जोड दिए । भूकम्पपीडित र मधेसका समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी अध्यक्ष राणाको थियो ।

कार्यक्रममा नेता चन्दले नेपाली जनता राष्ट्रियता र स्वाधीनताका लागि जस्तोसुकै कष्ट सहन तयार छन् भन्ने नाकाबन्दीबाट प्रमाणित भएको बताए ।

‘वर्तमान संकटबाट पार पाउन नयाँ राजनीतिक शक्तिको आवश्यकता छ, राप्रपा एकढिक्का भइ अब त्यो ठाउँ लिनुपर्छ, यसका लागि टाउको मात्र मिलेर हुन्न, हाम्रो मन पनि मिल्नुपर्छ’–उनले भने ।

महामन्त्री एवम् पार्टी संसदीय दलका नेता दीपक बोहराले वैकल्पिक राष्ट्र«वादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपा नेपालसँग पनि एकीकरण गरिनुपर्ने बताए ।

सो अवसरमा नव मनोनीत केन्द्रीय सदस्यत्रय दिलविकास राजभण्डारी, विन्देश्वर यादव र पदमबहादुर तामाङलाई अध्यक्ष राणाले शपथग्रहण गराएका थिए ।