घले दम्पत्तिले जनकपुर अस्पतालमा प्रसुति गृह निर्माण गर्ने

sheshकाठमाडौँ- गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुति गृह निर्माण गर्ने भएको छ ।

नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गरेका एमआईटी फाउण्डेसनका संस्थापकद्वय घले र गुरुङले शनिवार जनकपुरस्थित क्षेत्रीय अस्पतालको निरीक्षण गरेका थिए ।

सो क्रममा अस्पताल ब्यबस्थापनले अस्पतालको प्रसुती सेवामा निकै चाप रहेको र त्यसलाई ब्यबस्थित बनाउन नसकिएको जानकारी दियो ।सन् २०११-१२ मा स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार ६ वटा क्षेत्रीय अस्पतालमध्ये जनकपुर क्षेत्रीय अस्पतालमा बिरामीको सवैभन्दा धेरै चाप देखिएको थियो ।

अन्य अस्पतालमा ९७ प्रतिशत अकुपेन्सी रेट रहेकोमा जनकपुर अस्पतालमा १४५ प्रतिशतसम्म अकुपेन्सी रेट देखिएको थियो । साथै अस्पतालमा मातृशिशु मृत्युदर पनि निकै उच्च रहेको देखिएको छ, जहाँ ४५ प्रसुतीमध्ये २२ जनाको ज्यान जाने गरेको देखिएको छ ।