काठमाडौँ- प्रमुख राजनीतिक दलले राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चासँगको शीर्षस्थ तहको वार्तालाई निरन्तरता दिने निर्णय गरेका छन् ।
प्रमुख प्रतिपक्षीसहित सत्तारूढ दलबीच आज भएको वार्ताले शीर्षस्तरको वार्ता जारी राख्दै व्यवस्थापिका–संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकका आधारमा सहमतिको मिलन बिन्दु पहिल्याउन अधिकतम सहमति गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चासँग भएको वार्तामा सहमति नजुटेपछि पुनः प्रमुख दलको बैठकले सहमतिका लागि वार्ता र संवादलाई निरन्तरता दिने निर्णण गरेका छन् । बैठकमा प्रमुख पाँच दल नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्षस्थ नेताहरुको सहभागिता थियो ।
संशोधनमा परेका विषयलाई सहमति खोज्ने र त्यसको भाषामा समस्या भए कार्यदल र शीर्षस्तरमै बसेर टुङ्गो लगाउने नेताहरुले बताएका छन् । तीन दल र मोर्चाबीचको वार्तामा मोर्चाले समग्र विषयको प्याकेजमै सहमति हुनुपर्ने अडान लिए पनि प्रमुख दलहरुले भने प्रदेश सीमाङ्कनको जटिल विषय भएकाले उच्चस्तरीय राजनीतिक समितिमार्फत टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए । उक्त प्रस्तावपछि मोर्चा असहमति जनाउँदै वार्ताबाट बाहिरिएको थियो ।
मोर्चा बाहिरिए लगत्तै बसेको प्रमुख दलको बैठकले सहमतिका सबै विकल्पमा छलफल र वार्तालाई अघि बढाउने निर्णय गरेको थियो ।







