काठमाडौं- आफुलाई अपमान गरेर भुमिसुधार मन्त्रालयमा सरुवा गरेको भन्दै सचिव सूर्यप्रसाद सिलवालले हाजिर हुन अस्वीकार गरेका छन् । सरकारले उनलाई गृह मन्त्रालयबाट दुई साताअघि भूमिसुधार मन्त्रालयमा सरुवा गरेको थियो ।
सिलवालले हाजिरै हुन नमानेपछि उनलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । आफु सिनियर सचिव भएको र गृह मन्त्रालय समेत चलाएकाले भूमिसुधारमा सरुवा गर्नु आफ्नो लागि न्यायसंगत नभएको भन्दै उनले अन्यत्र सरुवा गरिदिन आग्रह गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुने इच्छा देखाएका थिए ।
गृहमन्त्री शक्ति बस्नेतले आफु निकट नारायण गोपाल मलेगोलाई गृह मन्त्रालयमा सरुवा गरेपछि सिलवालको सरुवा भएको हो । सिलवाल सिनियर सचिव हुन् । उनको जागिर अवधि पनि करिब एक वर्ष मात्र बाँकी छ ।
सिलवाल भुमिसुधारमा हाजिर नभएपछि विवादास्पद सहसचिव नागेन्द्र झाले निमित्त सचिव भएर काम गर्दै आएका छ्न ।






