एमालेको राष्ट्रिय भेलाको तयारी पूरा

Uml office

चितवन- नेकपा (एमाले) ले तराईमा भइरहेको आन्दोलन र वर्तमान समसामयिक विषयमा पार्टीको धारणा तय गर्न सोमबारदेखि चितवनको सौराहामा गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ ।

व्यवस्थापनको जिम्मेवारी लिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले अहिलेको परिवेशमा यहाँ हुन लागेको भेला राष्ट्रिय महत्वको भएको र सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । सोमबार बिहान ११ बजे भेलाको उद्‍घाटन एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

आजदेखि नै केन्द्रीय नेता र सहभागी चितवन आउने क्रम सुरु भएको छ । पार्टीका नेता माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत केन्द्रीय नेताहरु आज नै चितवन आउने अध्यक्ष थपलियाले बताउनुभयो ।

भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटीका सदस्यसहित तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारी सहित दुई सय ३५ जनाको सहभागिता रहने छ ।