लन्डन– अल्डरसटमा आयोजित तीन दिने धार्मिक प्रवचन कार्यक्रमबाट ५० हजार पाउण्डको सहयोग संकलन भएको छ ।

शुक्रबारदेखि आइतबारसम्म चलेको वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले शिव मन्दिर तथा कम्युनिटी सेन्टरको लागि भवन खरिद गर्न आवश्यक कोष जुटाउने उद्देश्यले आयोजना गरेको श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमबाट ५० हजार पाउण्ड संकलन भएको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए ।

शिव कल्चर तथा कम्युनिटी सेन्टरले ३ लाख पाउण्डको लगानीमा अल्डरसटको क्वीन्स रोडमा मन्दिरको लागि भवन खरिद गर्ने तयारी गरेको छ । सहयोग संकलनले भवन खरिद गर्ने सपना साकार हुन लागेको गुरुङले बताए ।

श्रद्धालुहरुबाट प्रतिबद्धता भएको ५० हजार पाउण्डको सहयोगमध्ये १६ हजार पाउण्ड रकम संकलन भइसकेको छ । प्रतिबद्धता गरिएको अरु रकम पनि उठाएर भवनको लागि सबै ३ लाख बुझाउने र जनवरी २८ मा साँझ बुझ्ने तयारी छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले शुक्रबार श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमको उद्घाटन गरेका थिए ।

व्यक्तिगत रुपमा सबैभन्दा सहयोग समाजसेवी, व्यवसायी रविजंग लामिछानेले गरेका छन् ।

सन् २००७ मा स्थानीय नेपाली तथा भारतीय समुदायको पहलमा अल्डरसटमा एक शिव मन्दिर स्थापना गर्ने लक्ष्यसहित शिव कल्चर एण्ड कम्युनिटी सेन्टर स्थापना भएको हो ।

फेसबुक कमेन्ट