संसद बैठक आज बस्दै, काँग्रेसले चल्न देला ?

काठमाडौं– काँग्रेसको अवरोधले आइतबार स्थगित प्रतिनिधिसभा बैठक आज पुनः बस्दैछ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठक चल्न दिने नदिने सभामुखको व्यवहारमा भरपर्ने काँग्रेसले जनाएको छ ।

सभामुखले संसद नियमावलीको नियम २१९ अनुसार सार्वजनिक महत्वको विषयमा मन्त्री वा प्रधानमन्त्रीले संसदमा दिएको वक्तव्यमाथि प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

गत आइतबार प्रधानमन्त्रीले दिएको वक्तव्यमा प्रश्न सोध्न खोज्दा सभामुख कृष्णबहादुर महराले अनुमति नदिएपछि काँग्रेसले सदन अवरुद्ध गरेको थियो ।

आजको बैठकमा संसद् सचिवालयले केही विधेयक पेश गर्नेगरी बैठकको कार्यसूची सार्वजनिक गरेको छ । संसद बैठकअघि १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सचिवालयका अनुसार बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पेश गर्नेछन् भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक र प्रशासकीय अदालत विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ ।

बुधबारै ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *