सोझा कोइरालामाथि ठूलो षड्यन्त्र – चन्द्र भण्डारी

Chandra Bhandariनेपाली इतिहासमा धेरै समयको त्याग र बलिदानपछि राजनीतिक पार्टी अत्यन्तै खरो रूपमा उत्रेर प्रतिबद्धतासाथ एकता गर्दै संविधानसभाबाट नयाँ संविधान जारी गरे । तत्काल संविधान जारी नगर्न परेको त्यति ठूलो दबाब थेग्दै दलका शीर्ष नेताहरू एकै स्थानमा रहेर एकता प्रदर्शन गरी संविधान जारी गर्लान् भनेर सायद कसैले पनि अनुमान गरेको थिएन । नेताहरूको एकता जसले नेपाललाई अस्थिर बनाउन चाहन्थे, तिनीहरूका लागि ईष्र्याको विषय बनेको थियो । त्यस्तो ईष्र्या गर्ने पात्र विभिन्न पार्टीमा थिए । तिनको एउटै लक्ष्य संविधान निर्माणमा कटिबद्ध गठबन्धन तोड्नु र संविधान निर्माणमा व्यवधान उत्पन्न गर्नु थियो । उनीहरूकै रणनीतिमा विभिन्न माग उठाएर मुलुकका विभिन्न स्थानमा आन्दोलन पनि भए । नयाँ संविधानको सबैतिरबाट सम्मान र स्वागत गर्दै बधाई दिने वेलामा नेपाली जनता चर्को आर्थिक नाकाबन्दीमा परे । सार्वभौम राष्ट्र नेपालको सरकारलाई यति कमजोर बनाइएको थियो कि मुलुकमा छिमेकबाट नाकाबन्दी भएकै हो भन्नसक्ने अवस्थासम्म देखिएन । सिरियामा भएको हिंसामा त्यहाँका जनता आप्रवासी बनी बाहिर जाँदा एउटा सानो बच्चा समुद्रको छालमा परेर मृत अवस्थामा भेटियो । त्यो बच्चाको तस्बिरले विश्वमा हलचल मच्चायो । त्यसपछि युरोपेली मुलुक मानवीय मूल्य र मान्यतामा कमजोरी भएको आँकलन गर्दै ती आप्रवासीलाई आफ्नो मुलुकमा आश्रय दिने निर्णयमा पुगे । तर, आज नेपालमा यति धेरै बच्चा, वृद्ध र जवानलाई औषधि, पेट्रोल र खाद्यान्न अभाव हुँदा पनि यो विषय अन्तर्राष्ट्रिय मिडियाको समाचार बन्न सकेन । संयुक्त राष्ट्रसंघका लागि पनि यो ‘इस्यु’ बन्न सकेन । किनकि हाम्रै सरकार र पार्टीभित्र छिमेकीको दलाली गर्ने व्यक्ति थिए । आज त्यो अवस्थामा तिनै पात्रले यो संविधान निर्माण गर्दा ईष्र्या गर्नेहरूलाई सघाउन दलबीचको एकतालाई विखण्डित गराउन चाहन्थे । एमाले, कांग्रेस र एमाओवादीका नेतालाई विभिन्न प्रलोभन देखाउँदै गठबन्धन टुटाउन खोजे पनि सम्भव नभएपछि सोझो, सरल र सज्जन नेपालका प्रधानमन्त्री, जो नेपाललाई संविधान दिन सफल हुनुभयो, उहाँलाई राष्ट्र विखण्डन हुँदै छ । तपार्इंले बाहेक कसैले सम्हाल्न सक्दैन, तपाईंको नेतृत्वमा बनेको संविधान अरूलाई किन कार्यान्वयन गर्न दिने ? तपाईं नभए शेरबहादुर देउवा आउन सक्छन् त्यसैले तपाईंले नै नेतृत्व लिनुपर्छ भनेर प्रधानमन्त्री पदमा उठ्न प्रेरित गरे । कांग्रेसको सम्पत्ति र उपलब्धिलाई पार्टीभित्रैका अरूको विचार आयात गर्ने व्यक्तिबाट ठूलो हानि पुर्‍याइयो । सुशील कोइराला पराजित हुने र अरूसँग तुलना गरिने व्यक्तित्व नै होइन । गृहस्थीविहीन, घरविहीन, नेपाललाई नै आफ्नो घर ठान्ने सोझा कोइरालालाई आज पार्टी र देशको हित नचाहने र स्वयं कोइरालाको राजनीति समाप्त पार्न खोज्नेले हराइदिए । सायद अबको इतिहासमा राज्यसत्तामा यति ठूलो दु:खद अर्को इतिहास पढ्नुपर्ने छैन । यो नेपालको अहिलेको वास्तविकता हो । अब यसलाई समीक्षा गर्दै आफैँभित्र र बाहिरका चुनौतीलाई कसरी चिर्ने भन्नेमा कांग्रेस र नेतृत्वले गृहकार्य गर्न जरुरी छ । पार्टी र देशका चुनौती कांग्रेस अहिले पार्टीभित्रै रहेका चुनौतीका कारण अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको छ । एउटा राष्ट्रवादी शक्ति, जो कसैसँग नझुकेका कारण नाकाबन्दी लागेको छ । नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त भएको छ । यस्तो वेलामा त्यही राष्ट्रवादी शक्तिलाई उकासेर प्रधानमन्त्री पदको चुनावलाई नेपाल र भारतबीचको चुनावमा परिणत गरिदिए । इतिहासको यो कस्तो विडम्बना ? बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जो कहिल्यै कसैसामु झुकेनन्, उनीहरूलाई पञ्चायत र अरू राजनीतिक पार्टीले अराष्ट्रिय तत्त्वको बिल्ला भिराइदिए । अहिले पनि यहाँ त्यस्तै भएको छ । यसलाई हामीले चिर्नुपर्ने अवस्था टड्कारो रूपमा आएको छ । यो नै हाम्रो सबैभन्दा पहिलो चुनौती बनेको छ । कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई कसरी व्यवस्थित रूपमा कार्यान्वयन गर्ने ? कसरी देशलाई अरूसामु झुक्न नदिने ? यो नै कांग्रेससामु खडा अर्को चुनौती हो । गत १२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण जनता अहिले पनि पीडामै छट्पाइरहेका छन् । कसैले आफ्नो बास गुमाएका छन् त कसैले परिवारका सदस्य पनि गुमाएका छन् । भूकम्प गएको झन्डै ६ महिना बित्न लाग्दा पनि सरकारले यस्तो पीडा बिर्सन सक्ने अवस्था निर्माण गर्न सकेको छैन । भूकम्पबाट क्षतविक्षत संरचना पुनर्निर्माणलाई पनि कांग्रेसले आफ्नो जिम्मेवारी सम्झी काम गर्नुपर्ने अवस्था छ । हिजोसम्म हामी सत्तामा रहँदा बेमेलको अवस्थामा थियौँ । एमाओवादी एकदम रेडिकल शक्ति, कूटनीतिक शक्ति एमाले र अत्यन्तै पुरानो राजावादी शक्तिको एकतामा अहिले सरकार निर्माण भएको छ । यससँगै मिलेर प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्दै संविधान कार्यान्वयनमा लैजानुपर्ने दायित्व हाम्रा सामु छ । त्यसैले तीन फरक पृष्ठभूमि र विचारधारा बोकेका शक्तिको सामना गर्दै पार्टीलाई सशक्त प्रतिपक्षको भूमिकामा राख्नु पनि कांग्रेसको चुनौती हो । नेपालको बनोट हेर्दा यहाँ कांग्रेस वा अन्य राजनीतिक पार्टीका सरकार बन्दा पनि भूगोल, संस्कृति, धर्म, सम्बन्ध, योगदानका हिसाबले भारतभन्दा धेरै टाढा जानसक्ने अवस्था छैन । त्यसैले पनि हाम्रो देशले जहिलेसुकै अनावश्यक दबाब झेल्नुपर्छ । विदेशी शक्तिले सकभर हामीलाई झुकाउन अनेक रणनीति अवलम्बन गरिरहेका हुन्छन् । पार्टीभित्र बसेकाबाट पनि हामीलाई अपमानित गर्नर्े काम भएको छ । कांग्रेस नेतृत्वमा सरकार भएको वेलामा भारतले जुन नाकाबन्दी गरेको छ, त्यसले भारतसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्नुपर्ने अवस्था सिर्जना गराइदिएको छ । यस्तो परिस्थिति आउनुमा हाम्रो कूटनीतिक कमजोरी भयो कि ? हामीले साशनसत्ता चलाउनै जानेनौँ कि ? वा हामीले छिमेकीको हितलाई बुझ्न सकेनौँ ? अब हाम्रो पुस्ताले खोजबिन गर्नुपर्ने अवस्था आएको छ । भारत, चीन र युरोपियनसँगको हाम्रो सम्बन्ध के हो ? हामीलाई अप्ठेरो पर्दा किन विदेशी शक्ति चुइँक्क बोल्दैनन् । कमजोरी कहाँनेर भयो ? कांग्रेसजस्तो ऐतिहासिक पार्टी र नेपालजस्तो प्राचीन राज्यबीच कहाँनेर तालमेल मिलेन ? यस्तो विदेश नीतिबारे हामीले टड्कारो समीक्षा गर्नुपर्ने अवस्था आएको छ । समीक्षाको आवश्यकता अब कांग्रेसले आफ्ना चुनौतीबारे आफैँले समीक्षा गर्नुपर्ने वेला आएको छ । सत्तामा बसे पनि, प्रतिपक्षमा बसे पनि वा पार्टी र नेतामाथि जसले जस्तोसुकै बिल्ला भिराइदिए पनि राष्ट्रियता र लोकतन्त्रका निम्ति हामी लड्नैपर्छ । हामीले नै यसको संरक्षण गर्नुपर्छ । सबैलाई मिलाएर लैजानुपर्छ । चाहे बिपी कोइरालाको मेलमिलापको बाटो होस्, चाहे गणेशमान सिंहको ०४६ को पञ्चायतविरोधी आन्दोलनको नेतृत्व होस् वा कृष्णप्रसाद भट्टराईले ०४७ मा बनाएको संविधानको नेतृत्व होस्, चाहे ०६२/६३ को आन्दोलनमा गिरिजाबाबुले गरेको नेतृत्व होस् वा अहिले सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान होस्, तिनमा कहीँ न कहीँ कमी–कमजोरी देखिए । तर, त्यसलाई हामीले पुनव्र्याख्या र समीक्षा गर्दै जसले पार्टीभित्रै रहेर पार्टीको अहितमा, नेतृत्वको अहितमा खेले, तिनलाई महाधिवेशनमा ठेगान लगाउने हिसाबले अगाडि बढ्नु कांग्रेसका निम्ति अहिलेको प्रमुख चुनौती र आवश्यकता हो । जसले सबैभन्दा ठूलो उपलब्धि हासिल गरिरहेको छ, त्यसलाई अपमान गराउने खेल कसले खेल्यो ? ती को हुन् ? कांग्रेसले अब तिनलाई देशभरि चिनाउनुपर्छ । नचिनी जतिसुकै ठूलो उपलब्धि हात परे पनि त्यसलाई कार्यान्वयन गर्नसक्ने अवस्था देखिन्न । अब कांग्रेसले हरेक क्षेत्रमा नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ । पुराना शक्तिलाई बिदा गर्नुपर्छ । त्यति हुन नसके अहिलेको सशक्त सत्तापक्षसँग कांग्रेसले प्रतिपक्ष भएर जुध्न सक्दैन । अन्त्यमा… कांग्रेस अब कसरी अघि बढ्ने ? कसरी जनतालाई निकास दिने ? नेपालीले संविधान बनाउँदा, विकास गर्दा, उद्योग खोल्दा आफ्नो स्वाभिमान गिर्न दिनुहुन्न । यसबारे सबै पार्टी एकढिक्का हुनुपर्छ । एकले अर्कालाई कटुतातिर लैजानु हुँदैन । सहयोगको भावनाको विकास गर्नुपर्छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन, नियम निर्माण, सीमांकन, प्रदेशको चुनाव, स्थानीय चुनाव र त्यहाँ निर्माण गर्ने सरकारको खाका तयार पार्ने कार्य सहमति र सहकार्यविना कठिन छ । प्रधानमन्त्रीको चुनावपछि एउटा फाइदा भएको छ । जो शक्ति आन्दोलनमा थिए, ती शक्तिले संसद्मा आएर चुनावमा भाग लिएका छन् । यसले उनीहरूका असन्तुष्टि वार्ताका माध्यमबाट मिलाउन सजिलो वातावरण निर्माण गरिदिएको छ । सरकार चलाउनेले पनि बाहिर रहेका शक्तिलाई साथमा लिएर देशलाई के गर्दा फाइदा हुन्छ, कसरी जनताको बढीभन्दा बढी सहयोग लिन सकिन्छ ? भन्ने विषयमा सोच्नुपर्छ । सबैलाई मिलाएर जाने तरिकाले सरकार अघि बढ्नुपर्छ । कसैले कसैको इगो लिँदा दुवै पक्षलाई फाइदा हुँदैन । राष्ट्र अघि बढ्न सक्दैन । संविधान निर्माणमा गरेका परिवर्तनकारी कुरा, सबैले सम्मान गर्ने काम र विश्वका लागि उदाहरणीय कामलाई निरन्तरता दिन समीकरण बिगार्न हुँदैन । राष्ट्रका अघि ठूला चुनौती तेर्सिएका छन् । राष्ट्रलाई परेको असर हाम्रा सामु छ । संविधानको कार्यान्वयन र देशको विकास बाँकी नै छ । ५० लाखभन्दा बढी ऊर्जाशील युवा रोजगारीका लागि बिदेसिएको अवस्था छ । नेपाल युवाविहीन बन्ने यस अवस्थालाई समीक्षा गर्दै फेरि पनि असल सत्तापक्ष र प्रतिपक्ष बनेर आर्जन गरेका उपलब्धिलाई व्यवस्थापन गर्न सँगै जाने वातावरण मिलाउन आवश्यक छ । भएका कमी–कमजोरीलाई अनुभवका रूपमा ग्रहण गरेर मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो । अब भ्रमभित्रको राजनीति गर्न हुँदैन । भ्रम दिनु हुँदैन । कांग्रेसलाई पञ्चायतको वेलामा राष्ट्रवादी नेता बिपी र गणेशमान सिंहलाई जुन बिल्ला भिराइएको थियो, सोही बिल्ला अहिले पनि भिराउन खोजिँदै छ, अब त्यसलाई पन्छाएर हामी अघि बढ्नुपर्छ । भ्रम तोडेर उज्यालो र पारदर्शिता अवलम्बन गरी अघि बढ्नुपर्छ । कांग्रेस राष्ट्रवादी सोचभन्दा बाहिर जान सक्दैन । जुन शक्तिले अहिले भ्रम सिर्जना गरेर वर्तमानमा जुन खेल खेलेका छन्, उनीहरूको खेललाई यो नै अन्तिम बनाउनुपर्छ । अब कुनै पनि व्यक्ति कुनै पनि षड्यन्त्रमा फस्नु नपरोस् । राष्ट्रवादी सुशील कोइराला र केपी ओलीजीलाई म केही भन्न चाहन्नँ, तर कोइरालाले पटक–पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । तर, ओलीजीले प्रधानमन्त्री भएर शपथ नलिँदै बधाई मात्र होइन, भारत भ्रमणको निम्तो पनि मोदीले दिए । नेपाली युवा पुस्ताले बुझ्नुपर्छ, जो सामाजिक सञ्जालमा खेल्न चाहन्छन्, नेपालको राजनीति बुझ्न कठिन छ ।

(भण्डारी कांग्रेस केन्द्रीय सदस्य तथा सांसद हुन्)