काठमाडौं २८ असाेज । भारतको नाकाबन्दीले देशमा ईन्धन अभाव भएपछि सरकारले आफूसँग स्टक रहेको ईन्धन व्यवस्थापन गरी वितरण गरिरहेको छ । आयल निगमले जेनतेन व्यवस्थापन गरेर जनतालाई दशैको समयमा घर जान सहज होस भनेर मंगलबार उपत्याकाका सबै पेट्रोलपम्पबाट नीजि सवारी साधनलाई तेल उपलब्ध गरायो । तर देशमा संकटको बेला उपलब्ध गराएको त्यही तेल दुरुपयोग गरी ललितपुरको एक पेट्रोलपम्पले कालोबजारी गरेको छ ।
ललितपुरको एकान्तकुना नख्खु दोवाटोमा प्रशान्ति आयल निगमले पेट्रोल लुकाएर कालोबजारी गरेको हो । मंगलबार दिनभरी सयौँ गाडीहरु लाईनमा बसे । तर साँझपर्ने बेला पम्प सञ्चालक हिरामान श्रेष्ठले तेल सकियो भनेर सबैलाई पठाउन खोजेपनि लाईनमा बसेकाहरुले हिसाव खोजेको ट्याक्सीचालक कमल महर्जनले बताए । उनले यो घटना प्रहरीको मिलेमतोमा भएको आफूहरुले देखेको समेत दाबी गरे । ‘दिनभरी लाईनमा बसेकाहरुले हिसाव माग्दा ७० वटा कारलाई १५ लिटरका दरले र २ सय ५० वटा मोटरसाईकललाई ५ लिटरका दरले तेल दिएको हिसाव फेलाप¥यो,’ महर्जनले भने । पम्प सञ्चालक हिरामान महर्जनले केही सवारीधनिहरुलाई बोलाएर बढी शुल्क तिरेमा आफूले तेल उपलब्ध गराउने बताएका थिए ।
सानेपा प्रहरीका ईन्स्पेक्टरको समेत मिलेमतोमा पेट्रोलको कालोबजारी गरेपछि लाईन बसेका सवारीधनिहरुले नाराबाजी गरेको मोटरसाईकल चालक राम डंगोलले बताए । ‘दिनभरी दुःख पाएका सवारीधनिहरुले तेल नपाउने, उसले कालोबजारी गर्ने भनेर नाराबजी गरे ।’ उनले भने ‘त्यति नै खेर सानेपाका ईन्स्पेक्टर हरीबहादुर ओलीले पम्प सञ्चालकबाट रकम लिईरहेको देख्यौँ ।’ प्रशान्ती पेट्रोलपम्प यसअघि पनि कालोबजारी आरोपमा कार्वाहीमा परेको थियो । पेट्रोलियम पदार्थ कालोबजारी गरेको आरोपमा एक व्यवसायीसँग ३० लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा पम्पका अर्का सञ्चालक कारागार चलान भएका छन् । पम्पले करिब ३५ लिटर क्षमताको ट्यांकीमा ४८ लिटर पेट्रोल भरेको भनेर ठगी र कालोबजारी गरेको ठहर गर्दै उक्त पम्पका सञ्चालक तथा व्यवस्थापक जनक पौडेलसँग धरौटी मागेको थियो । प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले वर्षौंदेखि उपभोक्ता ठग्दै आएका व्यवसायीविरुद्ध अभियानकै रुपमा उक्त रकम धरौटी माग गरिएको बताए। महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता डिएसपी दयानिधि ज्ञवालीका अनुसार उक्त पेट्रोलपम्मका सञ्चालकले ग्राहक र अवस्थाअनुसार मेसिनमा गडबडी गर्दै एकैपटक पाँचदेखि १५ लिटरसम्म ठगी गर्दै आएको थियो ।
सानेपाका प्रहरी परीसरका निरीक्षक ओलीले भने पहिला कुपन बाँड्ने क्रममा सञ्चालकले आफ्नो मान्छेलाई भित्रबाट कुपन दिएको भएपनि तेल लुकाएकोबारे भने आफूलाई थाहा नभएको बताए । उनले कुपन बाँड्ने विषयमा भएको झगडा आफूहरुले गएर मिलाएको तर साँझ आफूले पम्पको ट्याँकी हेर्दा केही तेल देखिएपनि पम्पले नतानेको बताए । ‘बिहान कुपन दिँदा भित्रबाट आफ्नो मान्छेलाई दिएको थियो, हामीले गएर त्यसो हुन दिएनौँ ।’ उनले भने ‘बेलुका लफडा भएपछि हामीले फेरी बोलाएर पेट्रोल पम्पमा हेर्दा केही तेल त देखिन्थ्यो तर पम्पले नतानेर हावा मात्र आएपछि सकिएछ भन्ने लाग्यो ।’ उनले पम्प सञ्चालकले नभई काम गर्ने केटाहरुले त्यसो गरेको बताए ।






