अमेरिकामा नेपाली चेलीको दुर्घटनामा परी निधन, अभिभाबक कोही भेटिएनन्, पूर्वपतिले दिए दागबत्ती

वासिङ्गटन डिसी । अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी निधन भएकी एक नेपाली चेलीको यहीँको एक नेपाली समुदायले सदगद गरेको छ ।

नेपालको सुदुर पश्चिम अछाम जिल्लाबाट विवाह गरेर अमेरिका आएकी निर्मला रेग्मी ओझाको नेप्लिज सोसाइटी इन टेक्सास (एनएसटी)ले ती चेलीका पूर्वपतिसमेतको सहकार्यमा हिन्दू विधिपूर्वका सेप्टेम्बर २३ विहिबार अन्त्येष्टि गरेको हो ।

समाजले अन्तिम संस्कारको लागि सबै खर्च समेत सोही समाजले व्यहोर्ने गरी विधिपूर्वक उनको अन्त्येष्टि गरिएको समाजका अध्यक्ष दिनेश शर्माले जानकारी दिए ।

टेक्सासको फोर्थ वर्थमा बाटो काट्ने नियमको पालना नगरी सडकमा हिड्दै गर्दा निर्मलालाई गाडीले हानेको बताइन्छ । उनको घटनास्थलमै मृत्युभएको भए पनि प्रहरीले उद्दार गरी उनलाई नजिकको अस्पताल लगेको थियो। अस्पतालले मृत घोषित गरेको थियो ।

लामो समयसम्म पनि उनका आफन्तहरु सम्पर्कमा नआएको कारण उक्त समाजले अन्त्येष्टि गरिदिएको हो । समाचारअनुसार, उनी अमेरिकाको केन्टकीमा बसोवास गर्ने एकजना नेपाली युवासंग मागी विवाह गरेर सन् २००७ मै अमेरिका आएकी रहिछन् । तर, उनको दाम्पत्य जीवन लामो समय चल्न सकेको रहेन छ । मानसिक रोगको औषधि खांदै गरेकी निर्मलाको दाम्पत्य जीवन विवाहको दुईबर्षभित्रै टुटेको रहेछ ।

तेह्र—चौध बर्षअघि कानुनीरुपमै डिभोर्स भइसकेकी पूर्वपत्नीको मृत्युलाई केन्टकी निवासी पूर्व पतिले वेवास्ता गरेनन् । उनकै माध्यमबाट टेक्सासस्थित नेपाली सोसाइटीलाई तत्काल खवर पुग्यो । नेपाली सोसाइटीका प्रतिनिधिहरु अस्पताल पुगे र उनको बारे थप बुझ्ने कोसिस गरे ।

नेप्लिज सोसाइटी इन टेक्सासका पूर्व अध्यक्ष तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा र समाजका अन्य प्रतिनिधिहरु अस्पताल पुगेर घटनाबारे विवरण लिएका थिए । उनका पूर्वपति केन्टकीबाट टेक्सास पुगेर उनको अन्तिम संस्कारमा साथ दिएका हुन् ।