काठमाडौं- स्वदेशमा समाधानको सुत्र पहिल्याउन छाडेर नयाँदिल्ली पुगेका मधेसी मोर्चाका नेताहरु प्रश्नै प्रश्नमा घेरिएका छन् ।
मोर्चाका नेताहरुलाई संविधानका विविध पक्ष र आन्दोलनका विषयमा भारतीय मिडिया र राजनीतिक नेतृत्वले प्रश्नै प्रश्न तेर्स्याएको छ । मिडियाले त नेपालमा समाधान खोज्नुको साटो किन दिल्ली आएको भनेर पनि प्रश्न गरेका छन् ।
राजनीतिक भेटमा विदेशमन्त्रीले संविधान संशोधनमार्फत मधेसीका मुद्दा सम्बोधन हुनुपर्ने र तराईमा जारी सीमा अवरोध हट्नुपर्ने बताएकी छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मधेसी मोर्चाका शीर्ष नेताहरूसँगको भेटवार्तामा नेपालका प्रमुख दलहरूले बृहत् सहमति निर्माण गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने र परिस्थिति सामान्य बनाउनुपर्ने बताएकी हुन् ।
भारतीय विदेशमन्त्री स्वराजले मोर्चाका शीर्ष नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँग तीन घन्टा डिनरसहितको भेटवार्ता गरेकी थिइन् । साँझ ८ बजेदेखि सुरु भएको डिनर वार्ता राति ११ बजेसम्म चलेको थियो । वार्ता लम्बिएपछि भाजपा नेता यशवन्त सिन्हासँग तय भएको भेट मोर्चा नेताले रद्द गरेका छन् ।
महतोले मधेसमा अधिकारका लागि आन्दोलन भएको र अन्तरिम संविधानमा पाइएको अधिकार पनि नयाँ संविधानमा खोसिएकोसमेत ब्रिफिङ गरेको बताए । उनले मधेसी, थारू जनतामाथि सरकारले दमन गरेको, तर राजनीतिक समाधानका लागि सरकारले तत्परता नदेखाएको पनि बताएको जानकारी दिए ।
भ्रमणको पहिलो दिन मधेसी नेताहरुले भारतीय विदेश मन्त्री सुष्मा स्वराज, कंग्रेस आईका नेता करण सिंह, डीपी त्रिपाठी, जनता दलका अध्यक्ष शरद यादवलगायतसँग भेट गरे ।






