लण्डन । एनआरएन यूके निर्वाचनको लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि अहिले बेलायतका विभिन्न क्षेत्रस्थित ११ वटा बुथमा मतदान भइरहेको छ । स्कट्ल्यान्डका ग्लास्गो र एडिनबरामा निर्वाचन सामग्री समयमा नपुगेका कारण मतदान सुरु हुन ढिलाई भएको छ । अल्डरसट, प्लमस्टिड, ह्यारो, रेडिंग, बेजिंगस्टोक, स्वीण्डन, आसफोर्ड, लेस्टर, बर्मिंगहम, ग्लास्गो, एडिनबरा, वेल्स र नर्दन आयरल्याण्डमा मतदान बुथहरु छन् ।
यसैबीच, गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले निर्वाचन प्रक्रिया प्रजातान्त्रिक अभ्यासको एउटा अनुपम नमुना भएको बताएका छन्। शनिबार बिहान एनआरएनए युके निर्वाचनमा साउथ ह्यारो केन्द्रबाट मतदान गर्दै आचार्यले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको कामना पनि गरे । आचार्यले बेलायत एनआरएन पन्जिकृत सदस्यका हिसाबले विश्वकै ठूलो शाखा बनेकामा आफूलाई भाग्यमानी लागेको बताउंदै शाखाको उचाइँ थप बढोस् भन्ने शुभकामना पनि दिए ।
यसपटक बेलायत एनआरएनमा मतदाता संख्या १३ हजार ६ सय २९ छ । आचार्य एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी पनि हुन् । उनले आफ्नो उमेद्ववारी पनि छिट्टै घोषणा गर्ने जनाउ दिए । १२ वर्षसम्म कमिटीमा रहेर काम गरेका आचार्य दर्हो आत्मबिश्वासका साथ महिना दिन यता विश्व भ्रमणमा व्यस्त छन्।













