मलेसिया एयरलाइन्सको एमएच१७ जहाज दुर्घटना प्रकरण![]()
नेदरल्याण्ड्स, २६ असोज , एजेन्सी । युक्रेनमा क्षेप्यास्त्र प्रहारबाट दुर्घटनाग्रस्त भएको मलेसिया एयरलाइन्सको एमएच१७ विमान खसाउन रसियमा बनेको ९एम३८ क्षेप्यास्त्र प्रयोग भएको नेदरल्याण्डस्को एक अनुसन्धान समितिले निष्कर्ष निकालेको छ।
मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै उक्त डच समितिले क्षेप्यास्त्र विमानको अगाडिको भागमा प्रहार भएपछि विमान टुक्राटुक्रा भएको प्रमाण पाइएको बताएको छ।
१४ जुलाई २०१४मा उक्त मलेसिया एयरलाइन्सको बोइङ ७७७ विमान युक्रेनको पूर्वी क्षेत्रमा उडिरेहको बेला क्षेप्यास्त्र प्रहार गरी झारिएको थियो।
२९८ जनाको ज्यान जाने गरि भएको उक्त दुर्घटनामा रसिया र पश्चिमा राष्ट्रले एकअर्कामाथि आरोप लगाइरहेका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश नेदरल्याण्डस्का नागरिकहरु छन्। प्रतिवेदन सार्वजनिक कार्यक्रममा दुर्घटनामा ज्यान गुमाउनेहरुका आफन्तलाई निम्त्याइएको थियो।
अमेरिका र उसका समर्थक मुलुकले रसिया समर्थक आन्दोलनकारीले क्षेप्यास्त्र प्रहार गरी विमान दुर्घटना गराएको बताउने गरेका छन् । रसियाले भने युक्रेन सरकार नियन्त्रित भूमिबाट नै क्षेप्यास्त्र प्रहार भएको आरोप लगाउँदै आएको छ।






