दुनियाँको ध्यान नयाँ शक्तिमाथि : भट्टराई

baburamकाठमाडौं, १० असार । नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सचिवालयको बैठक पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट सुरु भएको छ ।

पार्टी स्थापना राष्ट्रिय भेलापछिको पहिलो सचिवालय बैठकको सुरुवात गर्दै पार्टीका संयोजक डा.बाबुराम भट्टराईले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले नयाँ शक्तिलाई हेरिरहेको बताउनुभयो ।

‘नयाँ शक्तिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले हेरिरहेका छन्,’ संयोजक भट्टराईले भन्नुभयो, ‘दुनियाँको आँखा हामीमाथि परेकोले हामीले नयाँ विचारसहित नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा अगाडि बढाउनुपर्छ ।’ उहाँले नयाँ शक्तिप्रति आकर्षण र सहभागिताको लहर तिव्र भइरहेकोले यसलाई समूचित व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी स्थापना घोषणासभामा मौसमको प्रतिकूलताका बावजुद पचासौं हजारभन्दा बढी संस्थापक सदस्यहरुको उपस्थिति र सामूहिक सपथग्रहण नेपालमा मात्रै नभएर संसारकै नौलो परिघटना भएको संयोजक भट्टराईले बताउनुभयो । ‘पार्टी स्थापना नहुँदै मूलधारमा रहेका पार्टीहरुका प्रमुख नेतृत्व, अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरुको उपस्थिति र शुभकामना तथा कुटनीतिक प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति अर्को आकर्षण बन्यो,’ पार्टी स्थापना राष्ट्रिय भेलाको समीक्षा गर्दै उहाँले बताउनुभयो ।
संयोजक भट्टराईले पुराना पार्टीहरुको विकल्प बन्ने हाम्रो अभियानलाई ध्यान दिएर अगाडि बढ्न नेताहरुलाई आव्हान गर्नुभयो । ‘पुरानोको विकल्प बन्नको लागि तीन क्लस्टरबीचको एकता र सहकार्यका साथै समानुपातिक, समावेशी र सहभागितामुलक लोकतान्त्रिक मान्यतालाई सुनिश्चित गर्दै अगाडि बढ्नुपर्छ, यस्तो एकता र सहकार्यबाट मात्र आर्थिक समृद्धिको नेतृत्व गर्न सम्भव छ,’ उहाँले बताउनुभयो ।

संयोजक भट्टराईले संगठन निर्माणमार्फत निर्वाचनमा विजय हासिल गर्ने र सरकारमा पुगेर समृद्धिको योजना कार्यान्वयन गर्नु नयाँ शक्तिको प्रमुख कार्यभार भएको बताउनुभयो ।

बैठकमा सहिदहरुप्रति श्रद्धाञ्जली, अहिलेसम्मका कामको समीक्षा, दस्तावेजमाथि आएका सुझावबारे छलफल, विधान, कार्यविभाजना, तत्कालीन कार्ययोजना, आर्थिकलगायतका एजेन्डाहरुमाथि छलफल हुने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा २९ जना केन्द्रीय परिषद सचिवालय सदस्यले धारणा राखेका छन् । समीक्षा मन्तव्य राख्नेमा अरविन्द साह, गंगा श्रेष्ठ, महेश कोर्मोचा, कृष्ण शर्मा, कमला हेन्चुरी, बज्र किशोर यादव, मदन राई, जनक शाह, गणेश राई, सोनामसिंह स्याङ्तान, प्रविण मिश्र, प्रदीपमान तुलाचन, सोनामछिरिङ शेर्पा, सरुण बाठामगर, दुर्गा सोव, देवेन्द्र पराजुली, हिसिला यमी, करिष्मा मानन्धर, अटलमान राई, विरेन्द्र पोखरेल, अमरध्वज लामा, सुरेन्द्र चौधरी, कृष्ण चौधरी, महेन्द्र पासवान, पासाङ शेर्पा र नवराज सुवेदी रहनुभएको छ ।