काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेतसहित कडा चेतावनी दिएको छ ।
विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ ।
आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवाल र सरकारको निर्वाचनलाई बेवास्ता गर्दै निर्वाचनबाट चुनिएका क्यानका महासचिव अशोकनाथ प्याकुर्यालको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो ।
मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । आफ्नो स्वीकृतिबिना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन । प्याकुर्याल त्यही क्यानका महासचिव हुन् । पुस १८ गते राखेपले सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो । त्यसविरुद्ध प्याकुर्याल सम्मिलित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो, जसको अझै निर्णय भएको छैन ।






