प्रधानमन्त्री ओलीले पहिला चीन भ्रमण गर्ने बेइजिङको अपेक्षा

प्रधानमन्त्री ओलीले पहिला चीन भ्रमण गर्ने बेइजिङको अपेक्षाहङकङ २५ असाेज । प्रधानमन्त्रीमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शार्मा ओलीले पहिला चीन भ्रमण गर्ने अपेक्षा बेइजिङका अधिकारीहरूले राखेका छन्। बेइजिङमा यही साता आयोजना हुने सिल्करोड पुनर्निर्माण विशेष सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री ओलीले चीन भ्रमण गरी उच्च राजनीतिक भेटवार्ता गर्नसक्ने अपेक्षा बेइजिङले राखेको तर अहिले त्यो अनिश्चित बनेको स्रोतले जनाएकाे छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सहयोगमा एसियाली राजनीतिक पार्टीहरूको सञ्जाल आइक्यापले १४–१६ अक्टोबरमा बेइजिङमा सिल्करोड पुनर्निर्माण विशेष सम्मेलन आयोजना गरेको छ। चीनले एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई सम्मेलनमा निम्त्याएको थियो।

‘बेइजिङमा विशेष सम्मेलन हुने बेलासम्म प्रधानमन्त्रीमा निर्वाचित भैसकेको अवस्थामा पनि ओलीले चीन भ्रमण गर्ने र उच्च राजनीतिक भेटवार्ता गर्ने अपेक्षा थियो’, बेइजिङस्थित उच्च स्रोतले आइतबार साँझ भन्यो, ‘तर नेपालको राजनीतिक अवस्था र जनजीवन आसामान्य भएकाले प्रधानमन्त्री निर्वाचित भैसकेको अवस्थामा तत्कालै ओलीको भ्रमण सहज देखिएन ।’

ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने प्रयासमा रहेको दिल्ली अब एमाले–एमाओवादी गठबन्धन सरकार चीनतिर नढल्कियोस् भनेर निकै सचेत देखिएको छ। ओली प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै फोनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई मात्र दिएनन्, तत्काल भारत भ्रमणमा निम्त्याएका छन्। महत्वपूर्ण पक्ष याे छ कि माेदीकाे बधाइ अाउनु अघि नै चीनले प्रधानमन्त्री अाेलीलाइ बधाइ दिइसकेकाे थियाे। संसदमा प्रधानमन्त्री निर्वाचित भएर अाेली धुम्बाराही स्थित पार्टी कार्यालय पुग्दा चिनियाँ राजदूत ऊ चुन्ताई बधाइ दिन त्यहीँ उपस्थित थिए।

चीनकाे चाहना नेपालमा संविधान निर्माणको क्रममा देखिएको तीन दलीय सहमती निरन्तर होस् र सहमतीकै सरकार बनोस् भन्ने थियाे। भारतको समर्थनमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला उम्मेदवार बनेपछि बेइजिङको सदासयता एमाले अध्यक्ष केपी ओलीलाई रह्याे। तीन दलीय सहमतीले निरन्तरता नपाएकोमा दुःखी भए पनि एमाले र एमाओवादी गठबन्धनबाट ओली प्रधानमन्त्री निर्वाचित भएकोमा बेइजिङ खुसी देखिएको छ।

२००८ मा प्रधानमन्त्री चयन भएपछि पहिला चीनको भ्रमण गरेर दाहालले परम्परा तोडेका थिए। बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुने सन्दर्भ मिलाएर चीन भ्रमण गरेका दाहालले तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग राजनीतिक भेटवार्ता गरेका थिए। नेपालका प्रधानमन्त्रीले पहिला भारत भ्रमण गर्ने परम्परा तोडे पनि दिल्लीको असन्तुष्टि सामान गर्न दाहाललाई हम्मे परेको थियो। नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नाकाबन्दीले निम्त्याएको जटिल परिस्थितिबीच पहिला चीन भ्रमण गरेर दिल्लीसँगको सम्बन्ध थप चिस्याउन चाहँदैनन् ओली।

बेइजिङले एमाले–एमाओवादी गठबन्धनमा बनेको ओली सरकारलाई दाहाल सरकारकै राजनीतिक फ्रेममा राखेर हेर्ने संकेत दिएको छ। अघोषित नाकाबन्दीले गर्दा भारतसँग सम्बन्ध खराब भएको र दिल्लीको इच्छा विपरित बनेको यो सरकारलाई सहयोगको हात बढाउन बेइजिङ उत्सुक देखिएको छ। पहिलो भ्रमण हुन नसके पनि प्रधानमन्त्री ओलीलाई चाँडै चीन निम्त्याउने संकेत बेइजिङका अधिकारीहरूले दिएका छन्।
दाहालको सट्टा श्रेष्ठ
ओलीलाई प्रधानमन्त्री चयन गर्न निर्णायक भूमिका खेलेका एमाओवादी अध्यक्ष दाहालले पनि प्रस्तावित चीन भ्रमण रद्द गरेका छन्। दाहालको सट्टा एमाओवादीका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ बेइजिङमा हुने सिल्करोड पुनर्निर्माण विशेष सम्मेलनमा सहभागी हुने भएका छन्।

अध्यक्ष दाहालले चीनको निम्तो स्वीकार गर्दै १४ अक्टोबरदेखि चार दिने चीन भ्रमण तय गरेका थिए । बेइजिङमा उच्च राजनीतिक भेटवार्ता गर्ने र सिल्करोड पुनर्निर्माण विशेष सम्मेलनलाई सम्बोधन गर्ने दाहालको कार्यक्रम थियो। दाहालका स्वकीय सचिव तथा एमाओवादीका केन्द्रिय सदस्य चूडामणि खड्काका अनुसार प्रधानमन्त्री चयन भए पनि मन्त्री परिषद् गठन तथा राष्ट्रपति, सभामुख लगायतको निर्वाचनका कारण दाहालको भ्रमण रद्द गरिएको हो।

काँग्रेसबाट विदेश विभाग प्रमुख सुजाता कोइराला तथा एमालेबाट सचिव प्रदीप ज्ञवाली बेइजिङ सम्मेलनमा सहभागी हुँदैछन्।