मृत्युदण्ड कुर्दै अमर, राष्ट्रपतिले पहल गरे मुक्तिको सम्भावना

आरपी सहयात्री

दुबई । वैदेशिक रोजगारीको सिलसिलामा यूएई आएका दार्चुलामा अमरबहादुर बम मृत्युदण्डका लागि दिन गन्दै दुबईको जेलमा बसिरहेका छन् । ब्लडमनी बुझाए मृत्युदण्डको सजायबाट अमर मुक्त हुने समाचार केही समयअघि विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि नेपाली समुदायमा बमको विषयमा चासो बढेको छ । नेपाल र यूएईका परराष्ट्रमन्त्री स्तरमा अमरबहादुर बमको विषयमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा छलफल भएपछि यो विषयले चर्चा पाएको हो ।

amar bumतर, बमलाई दुबईको तल्लो अदालतले गरेको मृत्युदण्डको सजायको निर्णयलाई उच्च अदालतले पनि सदर गरी मृत्युदण्डको फैसलासहितको २ सय पृष्ठको अन्तिम पत्र नेपाली दूताबासमा रहेको कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले बताएका छन् । बमको मुक्तिका लागि पहिले नै प्रधानमन्त्री स्तरमा पत्राचार भए पनि दुबई अदालतको निर्णयमा कुनै नयाँ जानकारी नआएको कावा राजदूत टण्डनले बताउँदै भने, ‘बमको विषयमा कुनै नयाँ अपडेट नेपाली दूताबासलाई छैन ।’

टन्डनका अनुसार बमको मुक्तिका लागि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्राई र मन्त्री मिनेन्द्र रिजालले पनि पहल भएको तर दुबई अदालतको पुरानो निर्णय परिवर्तन भएको आधिकारिक जानकारी सार्वजनिक भएको छैन । पीडित भारतीय सेट्ठी परिवारले ब्लडमनी नचाहिने भन्ने ब्यहोराको पत्र पनि दूताबासमा रहेका कारण अमरबहादुरको मुक्ति लगभग असम्भव रहेको जानकारहरु बताउँछन् ।

दार्चुला जिल्ला धारी गाबिसका अमरबहादुर बम भूमिगत गिरोह अन्डरवल्र्डको जालमा फसी अन्जानमै धेरै पैसा कमाउने लोभमा भारतबाट यूएईको दुबईमा सन २००३ मा सवारी चालकको रुपमा आएका थिए । भारतको एक मार्बल कम्पनीमा सन् २००१ देखि कार्यरत बमलाई एक जना भारतीय नागरिकले बीस हजार भारतीय रुपैयाँ तलब दिने भनी लालच देखाई सवारी चालकका रुपमा यूएई ल्याएका थिए ।

यसै क्रममा यूएई आएको तेस्रो दिन दुबई स्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका उनलाई बाहिर बस्न लगाएका थिए । ती भारतीय नागरिक उक्त क्लबमा गएर एक जना सेट्ठी थर भएका भारतीय नागरिकको हत्या गरेको जानकारहरु बताउँछन् । हत्यापछि ती दुई जनालाई यूएईको सारजाहस्थित पोर्टसम्म छोड्न पुगेका अमरबहादुर बम भाषा र अन्य ठेगानाको अज्ञानताका कारण पक्राउ परेका थिए ।

उक्त हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले ज्यान मुद्दा दायर गरी जेल जीवन हुँदै सन् २००७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस मुद्दामाथि सुनुवाई गर्दै दुबई अदालतले अभियुक्त मनोज करन र अमरबहादुर बमलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । सोही फैसलालाई यूएईको सुपि्रम कोर्टले पनि पास गरेको छ ।

अज्ञानता र पैसाको प्रलोभनमा परी हाल मृत्युदण्डको दिन पर्खेर जेल जीवन बिताइरहेका अमरबहादुर बमको उद्दार गर्न नेपालका राष्ट्रपति स्तरबाट सिधै यूएईका सेखलाई विशेष अनुरोध गरिनुपर्ने आवाज यूएईको नेपाली समुदायमा उठिरहेको छ । कूटनीतिक तरिकाले विशेष पहल गरिएमा बमलाई मृत्युदण्डको सजायबाट मुक्ति हुन सक्ने भन्दै सुदूर पश्चिम सेवा समाज यूएईले एक ज्ञापनपत्र राष्ट्रपति डा. रामवरण यादवसमक्ष बुझाउने तयारी गरिरहेको समाजमा महासचिव मानबहादुर सुवेदीले जानकारी दिएका छन् । यसैका लागि सुवेदी हाल नेपालमा गएको र राजनीतिक अस्थिरताका कारण ज्ञापनपत्र बुझाउन बिलम्ब भएको जानकारी दिएका छन् ।