प्रहरीकै गोली लागेर हवल्दारको मृत्यु

बर्दिया, १९ भदौ । शुक्रवार बर्दियाको मैनापोखरमा थरुहट आन्दोलनलाई कमजोर बनाउने नियतका साथ सुनियोजित एवम् योजनावद्ध रुपले घटना घटाइएको आरोप थरुहट संघर्ष समितिले लागाएको छ । प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु प्रहरीले नै चलाएको गोली लागेर भएको भन्दै थरुहट संयुक्त संघर्ष केन्द्रिय समितिका संयोजक धनीराम चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै मैनापोखर घटनाको खण्डन गरेका हुन् ।
थरुहट आन्दोलनलाई कमजोर बनाउने नियतका साथ सुनियोजित एवम् योजनावद्ध रुपले प्रहरी प्रशासन र आमसञ्चार माध्यमबाट आन्दोलनकर्मीको संलग्नता भन्ने आरोप निराधार भएको चौधरीको भनाइ छ । हिन्दुहरुको पर्व कृष्णजन्माष्टमीका अवसरमा शुक्रवार र शनिवार मोटरसाईकल र व्यापार व्यवशायलाई खुकुलो पारिएको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।
चितवन देखि कञ्चनपुर सम्म थरुहट भुमी हुनु पर्ने माग गर्दै थरुहट संघर्ष समिति र संयुक्त मधेसी मोर्चाले २६ दिन देखि बन्दको आव्हान गर्दै आएका छन् । शैक्षिक संस्था, व्यापार, यातायात कलकारखाना बन्द छन् । वन्दका कारण बर्दियाको जनजीवन अस्तव्यस्त वनेको छ । स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा अझै जारी छ ।