काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा गौमुखी विकास बैंक लिमिटेड गाभिने भएको छ । यी दुई सस्था गाभिने सम्बन्धी सहमतिमा शनिबार हस्ताक्षर भएको छ ।मर्जरको सहमति पत्रमा शाइन रेसुङ्गाको तर्फबाट अध्यक्ष स्थानेश्वर पौडेल र गौमुखीको तर्फबाट अध्यक्ष नारायण बैद्यले शनिबार हस्ताक्षर गरे ।
संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, कर्जाको गुणस्तर, पूंजीकोष तथा अन्य वित्तीय सूचकांकहरु सुदृढ र सवल रहेको दुवै बैंकले ग्रामिण क्षेत्रमा बैंकिङ साक्षरता तथा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको दावी यी बैंकहरुको छ ।
रेसुङ्गाको मुख्य कार्यालय रुपन्देहीको बुटवलमा र गौमुखीको प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय रहेको छ ।
चुक्ता पूँजी ६३ करोड ३३ लाख रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७१÷०७२ मा २७ प्रतिशत वोनश शेयर र सोको कर प्रयोजनका लागी १.४२ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । बोनस वितरण पछि पूँजी ८० करोड ४३ लाख हुनेछ ।
गौमुखी विकास बैंक लिमिटेडको हाल चुक्ता पूँजी चार करोड ४९ लाख रहेको छ भने हकप्रद शेयर वापत १ करोड ६८ लाख निष्काशन प्रकृयामा रहेको छ । हकप्रद निश्कासन पछि बैंक मर्ज हुँदा चुक्ता पूँजी करिव ८७ करोड पुग्नेछ ।
डिडिए पश्चात नेटवर्थ समेतको आधारमा सेयर समायोजन अनुपात निर्धारण गरिनेछ । नेटवर्थमा १५ प्रतिशत भन्दा फरक नपरेमा सेयर समायोजन अनुपात (स्वाप रेसियो) १: ०.९० (शाइनको १ सेयर बरावर गौमुखीको ०.९ सेयर) कायम गर्ने सहमती भएको छ । मर्जर पश्चात बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड हुनेछ ।
मर्जर पश्चात निक्षेप ७ अर्व ६ करोड र कर्जा लगानी ६ अर्व ५ करोड पुग्नेछ भने केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २१ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् । कर्मचारी संख्या करिव २०० हुनेछ ।






