काठमाण्डाै २३ असाेज । थारुवान आन्दोलनकारी पक्षले दसैंलाई मध्यनजर गर्दै केही दिनका लागि कैलालीको बजार तथा यातायात बन्दका कार्यक्रम फिर्ता लिएको छ ।
शनिबार धनगढीमा पत्रकार सम्मेलन मार्फत दसैंलाई मध्यनजर गर्दै जिल्ला भित्रको बन्दलाई फिर्ता लिएर आन्दोलनका कार्यक्रमलाई खुकुलो पारेको बताए । उनीहरुले जिल्लाभित्र सञ्चालित सवारीसाधन र बजारलाई खुला राखेको बताए । तर यहाँबाट लामो दुरीका लागि सञ्चालन हुने बस तथा मालबाहक ढुवानीका साधनलाई चल्न नदिनें बताएका छन् ।
त्यसैगरी कात्तिक १५ सम्मका लागि आन्दोलनका कार्यक्रमको स्वरुपमा परिवर्तन ल्याएको बताएका छन् । आन्दोलनकारी पक्षले दसैं तिहारको अवधिमा सरकारी, गैरसरकारी र सार्वजनिक स्थलमा थारु स्वायत्त प्रदेशको भित्ते लेखन गर्ने, कालो झण्डा गाडेर अन्नबाली स्याहार्ने, विरोध स्वरुप दसैंलाई कालो मान्ने, जनजागरण अभियान सञ्चालन गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा थरुहट संघर्ष समितिका प्रवक्ता माधव चौधरी र नेपाली कांग्रेसका जिल्ला सचिव खेम चौधरी लगायतका नेताहरुको उपस्थिति थियो । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा थरुहट संघर्ष समितिका अध्यक्ष होरीलाल चौधरी, राना थारु संघर्ष समितिका संयोजक मालमती राना र कठरिया थारु संघर्ष समितिका संयोजक सुरज कठरियाको हस्ताक्षर छ ।






