काठमाडौं–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भरतपुरमा पुनः मतदान गर्ने निर्णय कानुनसम्मत भएको दावी गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० मा टेकेर भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय लिइएको प्रष्टिकरण पनि दिए ।
प्रमुख निर्वाचन आयुक्त यादवले मतगणना गर्ने, स्थगित गर्ने वा बदर गर्ने भन्ने निर्णय कानुनमै उल्लेख गरिएकाले सोही अनुसारको निर्णय लिन आफूहरु समक्ष रहेको दावी समेत गरे । उनले मुख्य निर्वाचन अधिकृत आफै कानुनको ज्ञाता भएकाले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको सुझावलाई मान्न निर्वाचन आयोग बाध्य हुने पनि उल्लेख गरे ।
विहिबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन पर्यवेक्षणसम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भरतपुर महानगरपालिकाको मतगणनाको विषय अदालतमा विचाराधिन रहेकाले त्यसमा धेरै टिप्पणी गरिरहन नहुने धारणा पनि राखे ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए ।






