दिगो ब्यापार तथा पर्यटन विकासमा ब्रिटेन च्याम्बर अफ कमर्शको कार्यक्रम

नेपालमा गएको महाभूकम्प पश्चात धरासायी भएको सामुदायिक उद्यम तथा ब्यापारको अवस्थामा सघाउने उद्देश्यले ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शले लण्डनमा एक कार्यक्रमको आयोजना गरेको छ।

गत बिहीबार सेन्ट्रल लण्डनको चर्च अफ स्कटल्याण्डको सभाहलमा आयोजित कार्यक्रममा भ्रमण तथा ब्यापार मार्फत नेपालसँग जोडिएका बेलायती नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रवेश शुल्क लगायत संकलन गरिएको रकम सम्बन्धित क्षेत्रको विकासमा सहयोग स्वरूप खर्चिने आयोजकले बताएका छन्।

कार्यक्रममा बिना अक्सिजन सगरमाथाको सफल आरोहण गर्ने प्रथम बेलायती नागरिक स्टेफन भिनेबल्सले  “बियोंन्ड एभरेस्ट” नामक शब्द चित्र प्रस्तुत गरेका थिए।

हिमालय आरोहीको अलावा एक प्रसिद्ध लेखक तथा बक्ताको परिचय समेत बनाएका भिनेबल्स आफ्नो हिमाल आरोहणसँग जोडेर बनाएको फोटो स्लाइडसँगको प्रस्तुतिले कार्यक्रमलाई नेपालमय बनाएको थियो। उनले आफ्नो प्रस्तुतिमा भूकम्प पश्चात नेपाल भ्रमणको लागि सुरक्षित रहेको बताएका थिए।

त्यसैगरी बिबिसी वर्ल्ड सर्भिसका डेनियल वालेसले “अर्थ क्वयेक एट एभरेस्ट क्याम्प ” नामक प्रस्तुतिमा बिनासकारी भूकम्पले सगरमाथा आधार शिविरमा पुर्‍याएको असरबारे प्रकाश पारेका थिए। भूकम्पपछिको हिम पहिरो र त्यसले गरेको मानवीय क्षति लगाएतको बिषयमा प्रस्तुति दिँदै उनले उद्दार कार्यमा नेपाल र नेपालीले देखाएको  साहसको सराहना गरेका थिए।

कार्यक्रममा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कंडेलले उपस्थित हरुलाई धन्यबाद दिँदै नेपालको दिगो विकासको लागि सहयोगभन्दा पनि व्यापारमा लगानी बढाउनु पर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बेलायति कम्पनीका प्रतिनिधि तथा नेपाली समुदायका व्यवसायीहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने खालका सामग्री हरुको प्रदर्शन गरिएको थियो।

विदेशमा रहेका नेपाली संघ संस्थाहरूले पनि यस्तो खालको कार्यक्रम गर्न सके खासमा नेपालको लागी धेरै फाईदा पुग्ने कुरा सहभागी नेपालीहरु ले बताएका थिए।