लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनको मिति नजिकिदैं गर्दा सचिव पदका उम्मेदवार जीत रानाभाटले चुनावी अभियानलाई तीब्र बनाएका छन् । बौद्धिक व्यक्तित्व, उच्च शैक्षिक योग्यता र सामाजिक कार्यहरुको लामो अनुभवले खारिएका रानाभाटको सक्रियताले चुनावलाई थप माहौलमय बनाएको छ । एनआरएन यूकेको सचिवमा चर्चित उम्मेदवार रानाभाट निर्वाचन जित्नेमा ढुक्क देखिएका छन्।
‘चुनावी अभियानका क्रममा एनआरएन यूकेका सदस्यहरुमाझ पुगिरहेको छु,’ रानाभाटले लन्डन नेपाल न्यूज डट कमसँग भने, वास्तवमै मैले मतदातासामु घरदैलो अभियानका क्रममा धरै साथी भाईको प्रतिक्रिया र हौसलाबाट उत्साहित भएको छु उनले भने ।‘’ रानाभाटले संस्थामा थप सदस्यहरुलाई आकर्षित गर्ने, विदेशमा बस्ने नेपालीको ज्ञान, सीप, अनुभवलाई नेपालको हितमा सदुपयोग गराउने लगायतका एजेन्डा अघि सारेका छन् ।
त्रिभुवनविश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर्स र एमफिल पूरा गरेका रानाभाट हाईली स्किल्ड म्यानपावरका रुपमा एक दशकअघि बेलायत आएका हुन् । बेलायतमा एक सफल निर्माण व्यवसायीका रुपमा स्थापित उनले यहाँस्थित थुप्रै सामाजिक संघसंस्थाका महत्वपुर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
रोयल ग्रीनविच नेपाली सोसाइटीका वर्तमान उपाध्यक्ष रानाभाटले यस अघी सो संस्थाको महासचिवका रुपमा काम गरिसकेका छन् । नेपाली हाइली स्किल्ड प्रोफेसनल सोसाइटी यूकेको कोषाध्यक्षका रुपमा भुमिका निभाएका उनी पशुपतिनाथ मन्दिर, लण्डन र क्षेत्री समाज यूकेमा पनि कार्यसमिति सदस्यको रुपमा काम गरिसकेका छन् । एनआरएन यूकेको वर्तमान कार्यसमितिमा विद्यार्थी समन्वय विभागको संयोजकका रुपमा समेत रानाभाटले काम गरेका थिए ।






