काठमाडौँ- सरकारले म्याग्दीमा तारा एयरको हवाइजहाज दुर्घटनामा परेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ‘हवाई दुर्घटना जाँचबुझ आयोग’ गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको मन्त्रालय सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।
आयोगका सदस्यमा नेपाली सैनिक विभागका इन्जिनियर दीपक बास्तोला, सिम्रिक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला, नेपाल वायुसेवा निगमका क्याप्टेन सुवास रिमाल र मन्त्रालयका सहसचिव सुरेशमान आचार्य रहनुभएको छ । पोखराबाट आज बिहान ७:५० बजे जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको विमान दाना, सोलिघोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटना हुँदा चालक दलका तीन सहित २३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।






