काठमाडौं- सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान विभेदकारी र एकल जातीय हितमा आधारित भएकोले यसको भविष्य नरहेको चेतावनी दिएका छन् ।
नयाँ संविधानले एकल जातीय र उच्च वर्गलाई मात्र अधिकार र संरक्षण गरेकोले कमजोर जगमा बनेको संविधान छिट्टै ध्वस्त हुने यादवले चेतावनी दिएका हुन् । ‘यो संविधानले मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम, महिला, सीमान्तृकत तथा उत्पीडित समुदायको अधिकारलाई बेवास्ता गरेको छ’, बुधबार राजधानीमा पार्टी सम्बद्ध तीन वटा विद्यार्थी संगठनहरुको समायोजन घोषणा समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘उत्पीडित समुदायको माग र सवाल नसमेटिएकोले यो संविधान स्वतः विफल भइसक्यो ।’
पूर्व एमाओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नाम मात्रको नयाँ रहेको उनले टिप्पणी गरेका छन् । ‘नयाँ शक्ति नाम राख्दैमा कुनै संगठन नयाँ हुन्छ ? व्यङ्ग्य गर्दै अध्यक्ष यादवले भने, ‘विचार र एजेन्डाले मात्रै कुनै शक्ति नयाँ बन्न सक्छ, संविधान जारीकर्ता कुनै पनि दल वा तिनका नेता नयाँ शक्ति बन्न सक्दैनन् ।’ संविधानबाट विभेदकारी प्रावधान हटाउन तथा उत्पीडित जनताका वास्तविक सवाल सुनिश्चित गराउने मुख्य दायित्व फोरम नेपालको काँधमा आएको र त्यसको लागि जस्तो सुकै संघर्ष गर्न आफूहरु तयार रहेको उनले बताए ।
फोरम नेपालका अध्यक्ष यादवले नेपाली कांग्रेस र नेकपा एमाले लगायत संविधान जारीकर्ता दलहरुलाई परिवर्तन विरोधी भएको आरोप लगाएका छन् । ‘संख्याको भरमा षड्यन्त्र गरी विभेदकारी संविधान जारी गर्ने कुनै पनि दल परिवर्तनकारी हुन सक्दैन’, उनले भने, ‘कांग्रेस, एमाले र एमाओवादी लगायतका दलहरुले परिवर्तनका एजेन्डालाई विसर्जन गरिसके । नयाँ संविधान त्यसैको प्रमाण हो ।’






