लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको उपाध्यक्ष पदमा नेपाली समुदायका एक सक्रिय युवा कासी दनैले उम्मेद्वारी घोषणा गरेका छन् ।
आगामी जुलाई २६ मा तय गरिएको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिदै युवा दनैले आफूले प्रतिबद्धताअनुसार काम गर्ने वाचा गरे । एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको उनले बताए ।
एनआरएनए बेल्जियमको हाल युवा संयोजक रहेका दनै कार्यसमितिमा रहँदा संस्थाका हरेक अभियान र प्रोजेक्टमा सक्रियतापूर्वक खटिएका थिए। बेल्जियममा हुने हरेकजसो नेपाली समुदाय लक्षित कार्यक्रमहरु सक्रिय भइ लागिरहेको भन्दै उनले एनआरएनए मार्फत नेपालीको थप सेवा गर्न चाहेको बतँए ।
बिगत दुई दशकदेखि बेल्जियममा सपरिवार बसोबास गरिरहेका दनैले लकडाउनका समयमा आफूलाई फेरि निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए । उनले आफ्नो कार्यकालमा खेलकुदमा केहि टेवा दिएको र कोरानाले गर्दा संकटमा परेका नेपाली समुदायलाई राहत वितरण गर्दै आएका छन्।
कलिलै उमेरमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका उनले अन्य कयौं संघसंस्थामा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । हाल उनि नेपाल ब्यबसायी संघ बेल्जियमको कोषाध्यक्षको रुपमा कार्यरत छन् ।
कासीले धेरै महत्वाकांक्षी योजनाहरु नबनाएको भन्दै युवा वर्ग, खेलकुद, ब्यबसायीहरुलाई विभिन्न योजनाबद्ध प्रोजेक्टको विस्तार तथा सामुहिक पहल गर्ने प्रतिबद्धता गरे । उनले भने, ‘संस्थाको पद त केवल प्लेटफर्म हो । त्यसैलाई उपयोग गरेर जति सकिन्छ, कामै गरेर देखाउने हो ।’
एनआरएन बेल्जियमलाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र बेल्जियममा रहेका नेपाली हरुको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थामा आउन चाहेको उनको भनाइ छ । “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक, हित र अधिकार प्राप्तिको लागि भरमग्दुर प्रयास गर्नका लागि र नयां पुस्तालाई एनआरएन अभियान प्रति आकर्षित गर्न गैर आवासीय नेपाली संघ (एनआरएन) बेल्जियमको उपाध्यक्ष पदमा उमेदवारी रहेको उनको दाबी छ ।
युवा संयोजक दनै आफ्नो पेशा, समाजसेवाका अलावा उनी विभिन्न व्यापार/व्यवसायमा पनि संलग्न छन् ।
यस्ता छन् उनका प्रतिबद्धताहरुः
१. एनआरएनए मा युवाहरुको अधिकतम उपस्थिति गराउन पहल गरि सस्थामा हुने राजनितिक हस्तक्षेप रोक्न जोडदार पहल गर्ने।
२. “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने।
३. नेपाली भाषा,साहित्य,कला र संस्कृतिको साथै पर्यटन प्रबन्ध विकासको प्रचार प्रसारका लागि समुदाय र नेपाली राजदूतावास संघ मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने।
४. अन्तर्राष्ट्रिय समन्वय परिषदले सुरुवात गरेको दिगो लगानी तथा ठुला परियोजनामा सम्पूर्ण पञ्जीकृत सदस्यहरुले आफ्नो इच्छा अनुरुप लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने।
५. स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवस्यक डाटा सुरक्षा प्रणाली लाई सुदृढिकरण गर्न पहल गर्ने।
उनले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न र सकारात्मक एनआरएनए बनाउने गरी काम गर्नको निम्ती उपाध्यक्षमा जिताएर अवसर दिन सबैलाई आग्रह गरेका छन् ।






