बेलायतमा हिमालयन सिद्ध महायोग परिवारले ८ दिने राम कथा पूजा पाठ गर्दै ,मार्च ३० देखि अप्रिल ६ सम्म, कसरी गर्ने दैनिक पूजा |

शिब भण्डारी

लण्डन । रामनवमी तथा हनुमान जयन्तीको अवसर पारेर महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान युकेले विशेष कार्यक्रम गर्ने भएको छ । प्रतिष्ठानले यही मार्च ३० तारिख बिहिवार देखि अप्रिल ६ तारिख बिहिवार सम्म श्रीराम (रामायण) कथा प्रवचन सहित ’श्रीरामनवमी तथा हनुमान जयन्ति’ विशेष कार्यक्रमको आयोजना गरेको हो ।

शारीरिक, मानसिक स्वास्थ्य, तथा आध्यात्मिक विकासका साथमा धार्मिक सहिष्णुता कायम गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष गोबिन्द घिमिरेले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

हिमालयन सिद्ध महायोगको भातृसंस्था आन्जेनेय यूवा समुहकी अन्तराष्ट्रिय अध्यक्ष, अनुभवी योग प्रशिक्षक, नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिका सुश्री चन्द्रकला सखीको अगुवाइमा गर्न लागिएको कार्यक्रममा परम पूज्यनीय परम वन्दनीय अनन्त श्री विभूषित जगद्गुरु रामानन्दाचार्य स्वामी श्रीराम कृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरूदेवको कृपा रहेको उनले बताए ।

सोरठिया प्रजापति कम्युनिटी साउथहल साखाको सहयोग र संलग्नतामा आयोजना गरिएको कार्यक्रममा नेपालकी प्रशिद्ध प्रथम महिला रामकथा बाचिका परमपूज्य चन्द्रकला सखीज्यूको सुमधुर सांगीतिक लयमा राम कथाको प्रवचन हुनेछ ।

कार्यक्रमले बेलायतमा रहेका सबै नेपाली र भावी पुस्ताका लागि ठूलो सकारात्मक प्रभाव छोड्ने समेत आयोजकको भनाई छ । कार्यक्रममा बेलायतका प्रधानमन्त्री, गृह-सचिव र बेलायतका लागि नेपाली राजदूतलाई समेत आमन्त्रण गरिएको भन्दै महासविच उदय लम्सालले कार्यक्रमबारे सम्पूर्ण जानकारीका साथमा अन्य विभिन्न व्यक्तिहरुलाई समेत निमन्त्रणा पठाईसकिएको बताए । उनले कार्यक्रमलाई सफल बनाउनको लागिसक्रिय भुमिका, सल्लाह, मार्गदर्शन र मद्दतको समेत अपेक्षा गरिएको समेत बताए ।