परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको निमन्त्रणमा चीनका विदेश मन्त्री याङ वुई नेपालको तीनदिने सद्भावना भ्रमणमा यही पुस १० गते राजधानी आउनु हुने भएको छ । आफ्ना समकक्षी नेतृत्वको चिनिया प्रतिनिधिमण्डलसँग पुस ११ गते र्दुइपक्षीय वार्ता हुने र त्यसक्रममा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्री पाण्डेले राससलाई जानकारी दिनुभयो ।
“अत्यन्त ठूलो अर्थतन्त्र भएको मुलुकका नाताले चीनले हासिल गरेको आर्थिक प्रगतिबाट नेपालले अधिकतम लाभ लिने तथा पारस्परिक सहयोग अभिवृद्धिमा पनि वार्ता केन्द्रित रहनेछ,” उहाँले भन्नुभयो । बहुआयामिक नेपाल–चीन सम्बन्धका सबै पक्षबारे छलफल हुने तर द्विपक्षीय सम्झौता भने नहुने जानकारी दिँदै मन्त्री पाण्डेले आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन विदेश मन्त्री याङको भ्रमण फलदायी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपाल बसाइका क्रममा चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, प्रमुख राजनीतिक दलका नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको वर्तमान सरकार गठन भएयता चीनबाट मन्त्रीस्तरमा हुन लागेको यो भ्रमण पहिलो हो । गतवर्ष पूर्व विदेशमन्त्री तथा चिनियाँ राज्य परिषद्का काउन्सिलर याङ जेइचीले नेपालको भ्रमण गर्नुभएको थियो । चीनमा राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले नेतृत्व सम्हाल्नेवित्तिकै पत्रकार सम्मेलन गरेर छिमेकी मुलुकहरूमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको सुनिश्चितताबाटै चीनसमेत लाभान्वित हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिँदै चिनियाँ विदेश नीतिमा छिमेकीहरूलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गर्नुभएको थियो ।
विदेशमन्त्री याङको यो भ्रमणलाई चासो र उत्साहका साथ दुवै मुुलुकले हेरिरहेका छन् भने आगामी वर्षको प्रारम्भमा चिनियाँ राष्ट्रपतिको प्रस्तावित नेपाल भ्रमणका निम्ति पनि यो भ्रमणले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
चिनियाँ विदेश बिहीबार नेपाल आउने






