प्रक्रियाबाटै संविधान : खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले माघ ८ गतेसम्म प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता खनालले माघ ८ भित्रै संविधान जारी गर्ने पक्षमा संविधानसभामा अत्यधिक बहुमत रहेकाले संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
आमजनतालाई अधिकार सम्पन्न बनाउन, विभेद्को अन्त्य गर्न र विभिन्न चरणमा जनताले गरेको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न संविधानको खाँचो रहेको भन्दै उहाँले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पठाएको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुन नदिने बताउनुभयो ।
नेता खनालले अधिकार सम्पन्न संविधानसभामा विभिन्न राजनीतिक विचारको प्रतिनिधित्व रहेकाले सर्वसहमति कायम हुन नसक्ने र दुई तिहाई बहुमतले पारित गरेका विषयलाई नयाँ संविधानमा समावेश गरिने बताउनुभयो । उहाँले समग्र मधेस एक प्रदेश हुनै नसक्ने उल्लेख गर्दै हिमाल, पहाड र तराईको सन्तुलित विकास नै सबै नेपालीको चाहना भएको प्रष्ट पार्नुभयो ।