बेलायतमा गोर्खा शालिक अनावरण

http://www.nepalipatra.com/images/articles/xnepal_news1443976560-gurkha1.jpg.pagespeed.ic.NkXDmjscpW.jpgलण्डन १८ असाेज। बेलायती सेनामा नेपालीहरू भर्ति हुन शुरू गरेकाे दुइ सय वर्ष पुग्न लागेकाे अवसरमा बेलायतमा गाेर्खा शालिककाे अनावरण गरीएकाे छ ।  बेलायतको फोक्सटनमा आइतबार गोर्खा शालिकको अनावरण गरिएको हाे ।
गोर्खाली चेली भनेर समेत चिनिने चर्चित बेलायती अभिनेत्री जोआना लुम्लेले एक भव्य समारोहकाबीच शालिक अनावरण गरिन ।

अनावरण कार्यक्रममा सहभागी हुनकै लागि बेलायत आएकी नेपालकी पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला पनि त्यसअवसरमा सहभागी थिइन ।

सो समारोहमा कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री, ब्रिगेड अफ गोर्खाजका कर्णेल, केन्टका मेयरसहित बेलायती र नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

त्यसअवसरमा ब्रिगेड अफ गोर्खाजले एक विशिष्ट प्रस्तुति दिएको थियो भने लिम्बु, राई लगायतका विभिन्न नेपाली जातीय संघसंस्थाको अग्रसरतामा च्याब्रुंग, साकेला, खुकुरी नाच लगायतका नेपाली सांस्कृतिक नृत्य पनि देखाइएको थियो ।

झण्डै ७० हजार पाउण्डको लागतमा बनेको शालिकको उचाई १२ फिट र तौल ८ टन छ । शालिक निर्माणका लागि उत्कृष्ट मानिने उच्चस्तरको तामा प्रयोग भएको शालिक बेलायती कलाकार रिबेका हकिन्सले डिजाइन तथा निर्माण गरेकी हुन ।

फोक्सटनका पूर्व काउन्सिलर धन गुरुंगको अगुवाईमा सन २००९ देखि नै शालिक निर्माणको  अभियान सुरु गरिएको थियो ।

शालिकका लागि आवश्यक सबै रकम मुख्यत स्थानीयहरु आफैले संकलन गरेका हुन । भूतपूर्व गोर्खा, बेलायतस्थित नेपाली समुदाय र बेलायती समुदायका सदस्यहरुले पनि शालिकका लागि आर्थिक सहयोग प्रदान गरेका थिए ।

यो शालिकलाई सर्वसाधारणको पहलबाट निर्माण गरिएको पहिलो गोर्खा शालिक मानिएको छ ।