काठमाडौं- २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टोली शनिबार स्वदेश फर्कदै छ।
बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको नेपाली फुटबल टोली शनिवार दिउँसो साढे १ बजे काठमाडौँ विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको फाइनलमा बहराइनलाई ३–० ले हराएर उपाधि जितेको थियो। उपाधि जित्न सफल नेपाली फुटबल टोलीलाई भव्य स्वागत गर्ने तयारी एन्फाले गरेको छ।
नेपाली टोली दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिए लगतै नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष स्वागत गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ।
नेपाली टोलीले बहराइनलाई पराजित गर्दै लामो समयदेखिको उपाधि बिहिन नेपालको खडेरीको अन्त्य गरेको थियो।
यसअघि सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुद सागमा भारतलाई टाइब्रेकरमा हराएर उपाधि स्वर्णपदक जितको थियो ।
उपाधि जितेको नेपाली फुटबल टोलीलाई एन्फाले जनही पाँच पाँच लाख र राखेपले जनही दुई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।






