काठमाडौं १६ असाेज । मिर्गौला तस्करीको ‘रियल पिक्चर’लाई ‘रिल’मा उतारेर पत्रकार उमेश चौहानले चलचित्र ‘पिक्चर’ निर्माण गरेका छन् ।सुखको आशमा आफ्नै मिर्गौला बेचेर बेहाल भएका युवाहरूको कथा पिक्चर भएको चौहानले बताए । उनि भन्छन् ‘काठमाडौंबाट जम्मा ६० किलोमिटर टाढा काभ्रेका विभिन्न गाउँका सोझासीधा युवालाई आर्थिक प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा लगिन्छ, मिर्गौला झिकेपछि उल्टै कुटपिट गरेर धपाइन्छ । त्यही कथा चलचित्रले फलो गरेको छ ।’
एक वर्षको अनुसन्धान र एक वर्षको छायाङ्कनपछि तयार हुन लागेको चलचित्र पिक्चर ‘नन स्क्रिप्टेड’ फिल्म हो । ‘हामीले चलत्रिको टाइटल मात्रै लेखेका हौ“, अरू सबै पीडितले भनेका कथा हुन् ।
पीडितका कथामा हाम्रा कलाकारले अभिनय गरेका छन्,’ चलचित्रका निर्देशक चौहानले भने, ‘यो हामीले गरेको सुन्दर परिकल्पना होइन, समाजको भयानक वास्तविकता हो ।’
चलचित्र पिक्चर प्रवीण बुढाथोकी र कपिल बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र नेपालका पहाडी गाउँदेखि काठमाडौं तथा भारतको गोरखपुरदेखि चेन्नई र सिलगुढीलगायतका सहरसम्म छायाङ्कन गरिएको छ ।
पिक्चरमा विक्रमादित्य शाह, चन्द्र नेपाली, आइशा ठकुरी, अभिनय, उमेश मायालु, रश्मी भट्ट, जीत राघव, आरजेश रेग्मी, दिनेश काफ्ले र अभिनयलगायतका कलाकारले अभिनय गरेका छन् । विनोद विष्टले छायाङकन गरेका छन् भने जेशन कुँवर र सुजिल कर्माचार्यको संगीत छ । विहीबार सार्वजनिक पिक्चरको ट्रेलर यस्तो छ :
https://youtu.be/AEJWoxppJqM






