म्यानचेस्टर सिटी र युभेन्टस विजयी

काठमाडौं १४ असोज  – च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह चरणको दोस्रो खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । पहिलो खेलमा पराजित भएको पराजित भएको म्यानचेस्टर सिटीले बुधबार राति भएको खेलमा भने बोरुसिया मोनचेङग्लोबालाई २–१ ले हरायो । खेलमा सुरुवाती अग्रता मोनचेङग्लोबाले लिएको भएपनि नतिजा सिटी कै पक्षमा गयो । ५४ औं मिनेटमा लार्स स्टिन्डलले गोल गर्दै मोनचेङग्लोबालाई सुरुवाती अग्रता दिलाए । ६५ औं मिनेटमा सिटीका निकोलस ओटमेन्डीले भलिगोल गर्दै खेल बराबरीमा ल्याए । ९० औं मिनेटमा पाएको पेनल्टीको अवसरलाई सदुपायोग गर्दै सर्जियो अग्युरोले गोल गरेपछि सिटी २–१ ले विजयी भयो । जितपछि दुई खेलबाट तीन अंक जोडेको सिटी समुह डीको तेस्रो स्थानमा छ । दुई खेलबाट अंकको खाता नै खोल्न नसकेको मोनचेङग्लोबा भने समुहको पुछारमा छ । समुह डी अन्तर्गत नै भएको अर्को खेलमा युभेन्टस विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा इटालिएन क्लब युभेन्टसले स्पेनिस क्लब सेभिल्लालाई २–० ले हरायो । जितपछि दुई खेलबाट ६ अंक जोडेको युभेन्टस समुहको पहिलो स्थानमा छ । दुई खेलबाट तीन अंक जोडेको सेभिल्ला समुहको दोस्रो स्थानमा छ ।
– एजेन्सीको सहयोगमा