काठमाडौं, १४ असोज । इन्धन अभावले सडकमा गाडी निकै कम चलेका छन् । सार्वजनिक गाडीमा खुट्टा राख्ने ठाउँसम्म नपाएपछि धेरैजना पैदलै ओहोरदोहोर गर्न बाध्य छन् । सडकमा खलखली पसिना बगाउँदै हिँडिरहँदा पछिल्तिरबाट आएको कार या मोटरसाइकल चालकले ‘कता जाने हो, आउनुहोस् बस्नुहोस्’ भन्दा कतिलाई अफ्ठेरो पनि लाग्ला, कतिलाई ‘ढुंगा खोज्दा देउता खोजेजस्तो’ पनि लाग्ला ।
त्यसमाथि अहिलेको जमानामा यस्तो सहयोगी भावना भएको मान्छे को होला र भन्नेहरु पनि धेरै छन् । तर इन्धन अभाव बढ्दै जाँदा पैदलयात्रीलाई सहयोग गर्नेहरु थपिन थालेका छन् । आफ्नो कार या मोटरसाइकल भएका धेरैले लिफ्ट दिने कामलाई अभियानकै रुपमा चलाएका छन् ।
फेसबुक र ट्वीटरमार्फत उनीहरुले आफु हिँड्ने रुटमा कोही हिँड्दैछ भने लिफ्ट माग्न अनुरोध गर्दै आफुले सहयोग गरेको जानकारी पनि दिने गरेका छन् । काठमाडौं तीनथानाका बुद्धि कार्कीले आफ्नो ट्वीटमा लेख्नुभएको छ–हामीलाई लिफ्ट माग्न र दिन दुवै असहज लाग्छ । अभ्यास गरे बानी बस्छ । हिजो बुढानीलकण्ठ–कलंकीमा ३ वटा बस बिसौनीमा आफैं रोकेर १३ जनालाई लिफ्ट दिएँ । सुरुवात गरौं ।’
उहाँले अरुलाई पनि यस्तै अभियान थाल्न आग्रह गर्नुभएको छ । कार या मोटरसाइकल लिएर कतै जाँदा सिट खाली छ भने त्यो रुटमा जाने अरु कसैलाई सहयोग गर्नुपर्ने भावना पनि बढ्दै गएको छ । लाजिम्पाटका टंक अर्यालले ट्वीटरमार्फत कार्यालय जाँदा आफुले पनि लिफ्ट दिएको जानकारी दिनुभएको छ ।
Provided ride to 4 people today morning while going office. #ShareRideKTM #Kathmandu #Nepal pic.twitter.com/NJWULDkqbI
— Tanka Aryal (@aryaltanka) September 30, 2015
अहिलेको अफ्ठेरो अवस्थामा यस्तो सहयोगी भावना सबैमा आउनु जरुरी छ । आफु गाडी या मोटरसाइकल लिएर कतै जाँदा सिट खाली छ भने पैदलयात्रीलाई लिफ्ट दिनुहोस् । अनि पैदलयात्रीले पनि लिफ्ट माग्ने गर्नुहोस् ।






