लण्डन,
गैरआवासीय नेपाली अभियानमा लामो समयदेखि संलग्न बेलायतका चर्चित समाजसेवी लक्ष्यबहादुर गुरुङले गैरआवासीय नेपाली संघको केन्द्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। एक घोषणापत्र जारी गर्दै गुरुङले यसअघि संघको नेतृत्वले अघि सारेका निर्णयहरु कार्यान्वयन गर्दै गैरआवासीय नेपाली अभियानलाई जन्मभूमि एवम् कर्मभूमि दुबैको हितमा लगाउनु आफुले उम्मेदवारी दिनलागेको बताए।
गत एक दशकदेखि गैरआवासीय नेपाली संघ युकेमा संलग्न भएका उनले २००६-०८ मा कार्यसमिति सदस्य, २००९-२०११ मा आईसिसि सदस्य, २०११-१३ मा विदेशमा नेपाली सामानको प्रवर्द्धन गर्न गठित कार्यदलको सदस्य तथा २०११-१३ मै युरोप क्षेत्रको क्षेत्रीय उपसंयोजक को रुपमा काम गरिसकेका छन्। हाल उनी एनआरएन युकेको सल्लाहकारको रुपमा सकृय छन्।
तमुधि युके (सल्लाहकार), ताङतिङ समाज युके ( अध्यक्ष), ताङतिङ ट्वीनिङ एसोसियसन (ट्रष्टी) र बर्न्टओक नेपाली समाज युके (पूर्व अध्यक्ष) जस्ता सामाजिक संस्थाहरुमा पनि संलग्न गुरुङलाई सन् २०१२ मा लण्डनस्थित बरो अफ बार्नेटले नेपाली समुदायलाई पुराएको योगदानको कदर स्वरुप ‘बार्नेट सिभिक अवार्ड २०१२’ प्रदान गरेको थियो।![NRNA-image1[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/NRNA-image11-300x225.jpg)
उनले गैरआवासीय नेपाली संघमा संलग्न सबै मित्रहरुलाई सहयोगकालागि अपील गर्दै आफु विजयी भएमा विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको चौतर्फी विकासमा लगाउन गैरआवासीय नेपालीहरुको स्कील्स बैंक स्थापना गर्न पहल गर्ने, मलेसिया, खाडी मुलुक लगायत अन्य देशहरुमा कार्यरत नेपाली कामदारहरुको सुरक्षित र मर्यादित रोजगारीका साथै खासगरी महिला कामदारहरुलाई विभिन्न प्रलोभनमा पारी शोषण तथा दमन गर्ने प्रचलन रोक्न संस्थागत पहल गर्ने, बेलायतस्थित भूतपूर्व गोर्खाहरुले समान पेन्सनका लागि गर्दै आएको आन्दोलनलाई संघको तर्फबाट पूर्ण सहयोग र समर्थन गर्ने, र नेपालमा उत्पादित विभिन्न खाद्यान्न, जडीबुटी, फूल आदि विदेशमा निर्यात गर्न र ती सामग्रीहरुमा बार कोड प्रणाली लागू गर्न, निर्यातजन्य वस्तुहरुको गुणस्तर कायम गर्न र काठमाण्डुस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कोल्ड स्टोरेज निर्माण गर्न संस्थागत रुपमा पहल गर्ने पनि जनाएका छन्।
यसैगरी उनले गैरआवासीय नेपाली संघले अवलम्वन गरेका परियोजनाहरु जस्तै नेपालमा महाभूकम्प पीडितहरुकालागि १,००० घर निर्माण गर्ने, संघको काठमाण्डौमा आफ्नै भवन निर्माण गर्ने, नेपालमा खुला विश्वविद्यालयको स्थापना गर्ने, विश्वव्यापी गैरआवासीय सन्जाललाई परिचालन गरी सामूहिक लगानी भित्र्याउने जस्ता कामहरुमा दिलोज्यानले अध्यक्षलाई सघाउने पनि जनाएका छन्।
परोपकारी कार्यक्रमलाई प्रभावकारी बनाउन परोपकारी कार्यदल (च्यारिटी टास्कफोर्स) को नेतृत्व लिइ प्रत्येक एनसिसीहरुलाई वार्षिकरुपमा कम्तीमा एउटा परोपकारी काम वा च्यारिटी डिनर गर्न कार्यसमितिमार्फत निर्देशन दिने र नेपाली नागरिकताको निरन्तरताकालागि एक उच्चस्तरीय आयोग गठन गर्न निरन्तर प्रयास गर्ने पनि गुरुङले जनाएका छन्।







