काठमाडौं, ५ असोज । नेपालमा नयाँ संविधान निर्माण प्रक्रियाबाट असन्तुष्ट बनेको भारतले सुरक्षाको कारण देखाउँदैं सीमा क्षेत्रमा तेल बोकेका ट्यांकरहरु नेपाल भित्रनबाट रोकेको छ ।
आइतबार र सोमबार नेपालको नयाँ संविधानमा मधेशका मुद्धा नसमेटिएको भन्दैं विज्ञप्तीमार्फत भारतले दुई पटक असन्तोष जाहेर गरेको थियो । सोमबार साँझ भारतीय सिमामा सुरक्षाको कारण देखाउँदै भारतले दोस्रो विज्ञप्ति निकालेको थियो ।
आयल निगमका अनुसार भारतले सुरक्षाको कारण देखाउँदै सोमबार साँझ नेपाल आउन लागेका २३ वटा ट्याङ्कर रोकेको छ । ‘सुरक्षाको कारण देखाउँदै सोमबार साँझ पेट्रोलियन पदार्थ नेपाल भित्राउन रोक लगाइएको थियो । ’ नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले नेपालीपत्रसँग भने, ‘अहिले हामी नेपाल भित्राउको लागि भन्सार पास गर्ने कोसिस गरिरहेका छौ । ’
यता विगत ४ दिनदेखि ग्याँसको आपूर्ति हुन सकेको छैन । आयल निगमका प्रवक्ताका अनुसार ग्यास बोकेका १० बुलेट गाडी जामको कारण नेपाल भित्रन सकेको छैन । पेट्रोललिम पदार्थ रोक्नुअघि भारतले नेपालको तराईका भूभागमा घाइते र मृत्यु हुनेगरी भएका हिंशात्मक घटनाप्रति चासो देखाएको थियो । तराईमा जारी तनावका कारण भारतका मालवाहक कम्पनी तथा यातायाताकर्मीहरुले पनि नेपाल आवतजावतमा भोग्नु परेको कठिनाइ सहित तिनका सुरक्षा चिन्ता प्रकट गरेको भारतले जनाएको थियो ।
भारतले शक्ति प्रयोगबाट तराईको समस्या समाधान सम्भव नहुने बताउँदै राजनीतिक नेतृत्वलाई वार्ताबाट हल गर्न सुझाव दिएको थियो । त्यसको भोलिपल्टै उसले पेट्रोलियन पदार्थको आपूर्तिमा अवरोध सुरु गरेको हो । नेपालले तेल किन्ने इण्डियन आयल कर्पोरेशन (आइओसी)ले लोड भएका ट्याकरलाई केन्द्र सरकारको आदेश भन्दैं भारतका सीमावर्ती क्षेत्रमै रोकिदिएको छ । यसैगरी रक्सौलमा तेल भरेर फर्किरहेका टंयाकरलाई पनि चेजजाच पास नगरी भारतले भन्सारमै रोकिदिएको छ ।
भारतले सोमवार साँझ जारी गरेको विज्ञप्ती, जसमा सुरक्षाको कुरा उठाइएको थियो
हिजो संविधान जारी भएपछि भारतीय सीमानजिकका नेपाली भू–भागहरूमा घाइते र मृत्यु हुनेगरी भएका हिंसात्मकघटनाप्रति हामी गम्भीर चिन्ता प्रकट गर्दछौँ । विद्यमान असहजताले गर्दा हाम्रा मालवाहक कम्पनी तथायातायाताकर्मीहरूले पनि नेपाल आवत–जावतमा भोग्नुपरेको कठिनाइसहित तिनका सुरक्षा चिन्ता प्रकट गरेका छन् ।
हामीले नेपालको राजनीतिक नेतृत्वलाई यी क्षेत्रमा जारी तनाव अन्त्य गर्न तुरुन्त पहलकदमी लिन पटक–पटक सजग गराउादै आएका थियौँ । यदि समयमै त्यसो गरिएको भए यस्तो विषम परिस्थिति आउने थिएन ।
हामीले लगातार भन्दै आएका छौँ कि नेपालको राजनीतिक चुनौती हल गर्न सबै पक्ष सहमतिमा पुग्नैपर्छ । नेपाललेभोगेको समस्या राजनीतिक प्रकृतिको हुनाले शक्ति प्रयोगबाट यसको समाधान सम्भव छैन । हामी अझै आशा गर्दछौँ कि नेपालको नेतृत्वले झडपको वर्तमान अवस्थालाई प्रभावकारी र विश्वसनीय ढंगले सम्बोधन गर्न पहल गर्नेछ ।






