बेलायतबाट सुमन पुनले सार्वजनिक गरिन् दर्जनौ कलाकारको साथमा राष्ट्रप्रेमी गीत ‘हामी नेपाली हामी गोर्खाली’ (भिडियोसहित)

लण्डन। बेलायतबाट सुमन पुनले ‘हामी नेपाली हामी गोर्खाली’ बोलको देशभक्ति गीत बजारमा सार्वजनिक गरेकी छन् ।

नेपाल कलाकार संघ, यूकेको प्रस्तुति र सुमन पुनद्वारा निर्माण गरिएको देश प्रेमले ओतप्रोत राष्ट्रिय भावको गीत “हामी नेपाली हामी गोर्खाली” सार्वजनिक गरिएको छ ।

वीर गोर्खालीहरु र सम्पुर्ण नेपालीमा समर्पित शान्त कुमार राईको उक्त म्यूजिक भिडियो मान इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा सुरेश राज पाठक, मनसुधन थापा मगर, ममता गुरुङको स्वर रहेको छ भने कल्पना आङबुहाङले शब्द लेखेकी हुन् ।

अशोक कुमार राईको संगीत रहेको सो गीतको कम्पोज गंगा राज राईले गरेका हुन् ।

फ्रेन्डशिप हेयर एन्ड ब्यूटीले मेकप गराएको उक्त गितको भिडियोको आउटफिटमा सिर्जना ढाका फेशन र रोमियन बी. कलेक्सनले सहयोग गरे ।

देशभक्ति उक्त गीतको भिडियोमा रोमियन लिम्बू, ध्रुब दत्त, सिर्जना निङ्लेखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुधराज, इन्दु लिम्बूको अभिनय रहेको छ भने डिलु थापाले कोरियोग्राफी गरेका हुन् ।

नविन निरौलाको कलर, कुशल श्रेष्ठको छायांकन र एडिटिङ्ग रहेको उक्त गीत सुमन पुनले बजारमा ल्याएका हुन् । जसमा शान्त कुमार राईले निर्देशन गरेका छन् ।

चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष समेत रहेकी रोमियन लिम्बूले बेलायतमा रहेर पनि नेपाल र नेपालीहरुको पहिचान झल्काउने गरी उक्त गीत सार्वजनिक गरिएको बताइन् ।

उक्त गीत सार्वजनिक भइसकेपछि दर्शक तथा स्रोताहरुबाट राम्रो प्रतिक्रिया पाएको भन्दै उनले बेलायतका विभिन्न भागमा खिचिएको यस भिडियोले यहाँ रहेका बालबालिकाहरुलाई पनि राष्ट्रप्रेम बुझाएको बताइन् ।

त्यस्तै मान इन्टरटेनमेन्टका निर्देशक तथा गीतको निर्माता सुमन पुनले यस गीत मार्फत बेलायतमा रहेका नेपालीहरुको राष्ट्रपेम प्रस्तुत गरिएको भन्दै नेपाल र नेपालीहरुको पहिचान स्थापित गर्नमा गीतले भूमिका निभाउने आशा व्यक्त गरिन् ।

पहिलो पटक आफ्नो कम्पनीमार्फत यो म्यूजिक भिडियो सार्वजनिक गरिएको भन्दै उनले यसप्रकारका गीतहरुलाई बढी प्राथमिकता दिएर नेपाली कला संस्कृतको सम्मान र संरक्षणमा अघि बढ्ने बताइन् ।

 

हेर्नुहोस् भिडियो