अबको सरकारले अहिलेको बाटोबाट दायाँबायाँ गर्न सक्दैन : प्रधानमन्त्री

kp olijiकाठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले निर्धारण गरेको बाटो हिँड्न अब बन्ने नयाँ सरकार बाध्य हुने बताउनुभएको छ ।

एभिन्यूज टेलिभिजनको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “अहिलेको भन्दा बाटो दायाँबायाँ ग¥यो कि जनताले थाहा पाइहाल्छन् ।”

उहाँले आफ्नो कार्यकालमा मुर्छित सपनाहरुलाई ब्यूँझ्याउने काम भएको पनि टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – “मुलुकलाई एकातिरको निर्भरताबाट बाहिर निकालेर फराकिलो बाटोमा ल्याएका छौँ, सगरमाथाको टाकुराबाट विश्वलाई हेर्नसक्ने भएका छौँ ।”

वर्तमान सरकारले युरेनियम, फलामखानी, पेट्रोलियम खानी, नुनखानी पत्ता लगाएको र अब त्यसको उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो – “हाम्रो देशको माटो, ढुङ्गामा समेत बहुमूल्य धातु पाइन्छ, यो देश हिरा, रत्न र मणीको खानी भएको देश हो ।”

आफूले रेलको कुरा गर्दा कसैले जिस्काए पनि निकट भविष्यमा नेपाली जनताले रेल चढ्न पाउने कुरालाई उहाँले दोहोर्‍याउनुभयो ।

उहाँले नवलपरासीमा फलामखानीको पहाडै भएपनि सियोदेखि फालीसम्म विदेशबाट ल्याउनुपर्ने अहिलेको बाध्यताबाट मुक्त हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

सरकारले जनमुखी कार्यक्रम ल्याएपछि केही पार्टीका नेताले आफ्नो पार्टी अब साइनबोर्डमा मात्रै सीमित हुने चिन्ता व्यक्त गरेको पनि प्रधानमन्त्रीले खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो – “हामीले जनता आवास कार्यक्रममार्फत गरिब जनतालाई २० हजार घर वितरण तथा सिँचाइको व्यवस्था गर्दै थियौँ, अनि अरुलाई निद्रा लाग्छ त ?, उनीहरुको नीँद हराम भयो ।”